परीक्षामा विद्यार्थीले जुत्ता र मोजा लगाउन नपाइने



पटना, (एजेन्सी)
भारतको पूर्वीराज्य बिहारको प्रशासनले परीक्षाको बेला विद्यार्थीहरूलाई चिट चोर्न नदिने उद्देश्यले तिनीहरूलाई जुत्ता र मोजा लगाउन नदिने भएको छ। सरकारी अधिकारीहरूले विद्यार्थीहरूले मोजा र जुत्तामा चिट र गाइडहरू लुकाएर ल्याउने गरेको बीबीसीलाई जानकारी दिएका छन्।

यो नियम आगामी २१ फेब्रुअरीदेखि लागू हुने भएको छ। त्यसबेला १५ वर्ष उमेरका करिब १८ लाख विद्यार्थीले कक्षा दसको वार्षिक परीक्षा दिनेछन्। लामो समय देखि विहार विद्यार्थीहरूले परीक्षामा चिट चोर्ने कारण अत्यन्तै बदनाम रहँदै आएको छ।

अधिकारीहरूले परीक्षा हलमा प्रवेश गराइनुपूर्व पनि विद्यार्थीहरूको खानतलासी लिइने र परीक्षा दिँदै गरेका विद्यार्थीहरूको पनि निरन्तर भिडियो मोनिटरिंग हुने बताएका छन्। मोजा र जुत्ता लगाएर आउने विद्यार्थीहरूलाई परीक्षा हल बाहिर उभ्याइने पनि बताइएको छ।

सन् २०१६ मा पनि विहार राज्यमा विद्यालयको परीक्षामा चिट चोर्न नदिन आर्थिक जरिवाना र कारावास सँजायको समेत व्यवस्था गरिएको थियो। सो राज्यको १ सत्र वर्षीया मेधावी छात्रालाई चिट चोरेको आशंकामा गिरफ्तार गरिएको थियो।

उनी पुन परीक्षामा अनुत्तीर्ण भएकी थिइन्। यसैगरी सन् २०१३ मा चिट चोरेकै आरोपमा १ हजार ६ सयजनाभन्दा बढी विद्यार्थी विद्यालयबाट निष्कासित भएको थियो। त्यसबेला आफ्ना बालबालिकालाई परीक्षामा चिट चोर्न मद्दत गरेको अभियोगमा करिब १ सय जना अभिभावकलाई पनि हिरासतमा लिइएको थियो। परीक्षामा लिइएको कडा नीतिको कारण विहारको उत्तीर्ण विद्यार्थीको संख्या पनि घट्दै गइरहेको छ।

प्रतिक्रिया दिनुहोस्