रिझाउने मौका



देउवा सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका ३ जनाको नाम ‘किक आउट’ गर्दै ओली सरकारले आफ्नातर्फका ३ जनालाई सिफारिस गर्यो। मंगलबार बिहानको मन्त्रिपरिषद्ले राष्ट्रपति भण्डारीलाई नाम सिफारिस गर्यो, दिउँसो भण्डारीले दायाँबायाँ कतै नसोचीकन चुड्कीको भरमा नाम अनुमोदन गरिन्।

अस्ति माघ २६ गते देउवाले सिफारिस गर्याहरूलाई चाहिँ निकै दिन शीतल निवासले राम्रैसँग झुलायो। प्रक्रिया अध्ययन गर्ने बहानामा। तर धरहराले बुझ्न नसक्या कुरा देउवाको सिफारिसचाहिँ धेरै दिन लगाएर अध्ययन गर्नुपर्ने ओलीको सिफारिसचाहिँ तु अनुमोदन हुने, के हो प्रक्रिया भन्या? देउवाको सिफारिस उनको बोलीझैं अस्पष्ट थ्यो, कि? ओलीको सिफारिसचाहिँ उनको बोलीझैं प्रस्ट भएर पो हो कि? धरहरा रनभुल्लमा पर्या छ।

धरहराले राष्ट्राध्यक्षको विगत केलाउने प्रयत्न गर्दा अन्योलता अन्य भयो। ऐ, भण्डारीले शीतल निवासमा बास बस्ने सौभाग्य उनै ओलीका कारणले पाएकी थिइन् क्यार। अहिले उनी त्यही भूमिकामा रहन राम्रै कसरत गरिराख्या बेला कम्रेड ओलीको सिफारिस धेरै दिन थन्क्याउने कुरा पनि त भएन नि हैन? पार्टीका अन्य कम्रेडहरूले एउटै व्यक्तिलाई शीतल निवासमा बास बस्ने मौका दिनुहुन्न भनेर प्रस्ट भनिरहेका बेला सबैभन्दा निकटका कम्रेडलाई यो बेला नरिझाए कहिले रिझाउनु, हैन त भण्डारीज्यू?

प्रतिक्रिया दिनुहोस्