एपीएफ पीएम कप भलिबल च्याम्पियन



नेपालगन्ज, (नेस)
पाँचौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ। सोमबार भएको उपाधि भिड्न्तमा एपीएफले शिवम् न्यु डायमन्ड एकेडेमीमाथि ३–२ को कठिन जित निकाल्यो। न्यु डायमन्डले पहिलो सेटमा २५–१२ सहज जित निकाल्दै राम्रो शुरुआत गरेको थियो। दोस्रो र तेस्रो सेटमा खेलमा फर्कंदै एपीएफले २५–२१ र २५–१६ को जित निकाल्दै २–१ को अग्रता बनाएको थियो।

चौथो सेटमा न्यु डायमन्डले पुनरागमन गर्दै २५–२१ ले आफ्नो नाममा लेखाउँदै खेललाई २–२ को बराबरीको अवस्थामा पुर्याएको थियो। रोमाञ्चक बनेको अन्तिम सेटमा भने दुई पटक न्यु डायमन्ड म्याच प्वाइन्टमा पुगेर चुकेपछि खेल एपीएफले १९–१७ ले जित्यो।

रोमाञ्चक बनेको फाइनलमा न्यु डायमन्डकी प्रतिभा मालीले एक्लैले ५४ अंक जोडेकी थिइन्। तर टिमले भने उपाधि जित्न सकेन। त्यसै गरी मञ्जु गुरुङले १८ अंक बनाइन्। एपिएफकी सरस्वती चौधरीले ३६ अंक जोड्दा नेबिका चौधरीले २१ अंकको योगदान दिएकी थिइन्। प्रतियोगितामा एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी, प्रतिभा उत्कृष्ट स्पाइकर, न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, उत्कृष्ट सेटर न्यु डायमन्डकै कृपा अधिकारी, उत्कृष्ट सर्भर एपीएफकी नेबिका चौधरी र उत्कृष्ट ब्लकरमा एपीएफकी हीरा केसी पुरस्कृत भइन्।

विजेता टोली एपीएफले २ लाख, उपविजेता न्यु डायमन्डले १ लाख, तेस्रो भएको नेपाल पुलिस क्लबले ५० हजार प्राप्त गरे। बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगितामा एपीएफ, न्यु डायमन्ड, पुलिस, आयोजक न्यु इन्द्रेणी बागेश्वरी युथ, भारत देहरादुनको स्पोर्टस टेनिज र बंगलादेशको इफाद गु्रप अफ महिला भलिबल टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्