राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई ३⁄३ लाख दिइने



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्दै जनही नगद ३ लाख दिने घोषणा गर्नुभएको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेट खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले उक्त घोषणा गर्नुभएको हो। वहाँले नामिबियामा हालै सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेवापत नेपाली खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख रुपियाँले सम्मान गर्नेे घोषणा गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले सरकार खेल क्षेत्रको विकासको सकारात्मक रहेको बताउनुभएको छ। प्रधानमन्त्रीले घोषणा गरेको उक्त रकम आउँदो शुक्रबार हस्तान्तरण गरिने भएको छ। शनिबार नेपाली टोली आईसीसी विश्वकप क्रिकेट क्वालिफायर खेलका लागि जिम्बावे प्रस्थान गर्दैछन्। उनीहरूलाई बिदाइसहित रकम हस्तान्तरण गर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ।

सोही कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पनि प्रतिखेलाडी र प्रशिक्षकलाई १–१ लाख दिने घोषणा गर्नुभएको छ। कुल ४⁄४ लाख पाउने खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, सन्दीप लामिछाने, सोमपाल कामी, सरद भेषवाकर, शक्ति गौचन, आरिफ शेख, करण केसी, दीपेन्द्रसिंह ऐरी, वसन्त रेग्मी, रोहितकुमार पौडेल तथा प्रशिक्षक जगत टमाटा रहेका छन्।

विनोद वैकल्पिक खेलाडी
नामिबियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा खेल्न नेपाली टोलीमा स्थान बनाउन नसकेका विस्फोटक ब्याटसम्यान विनोद भण्डारीको पुनरागमन भएको छ। जिम्बावेमा हुन लागेको आईसीसी विश्व कप क्रिकेट क्वालिफायरको लागि विनोदलाई वैकल्पिक खेलाडीका रूपमा स्थान दिइएको छ। जिम्बावे जाने टोलीका १५ खेलाडीमा डिभिजन–२ खेलेका रहेका
छन्।

प्रतिक्रिया दिनुहोस्