रसियाको फेस्टिवलमा नेपालको नाटक



रसियाको नोभोसिबिर्सक शहरमा जारी झवान टु, थ्री थिएटर फेस्टिवलमा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म एकेडेमीले नाटक प्रदर्शन गरेको छ। फेस्टिवलको नियमअनुसार एक, दुई या धेरैमा तीन जना कलाकारले मात्रै प्रदर्शन गर्न पाउने उक्त फेस्टिवलमा सहभागी हुन नेपालबाट कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरी, डाइरेक्टर नरेशकुमार केसी तथा विद्यार्थी मोहन जैशी र सन्जोग रसाइली रसिया पुगेका थिए।

रसियाको सबै राज्य र अन्य देश गरेर ४६ नाटक मञ्चन भएको फेस्टिवलमा नेपालले हालै नोभोसिबिर्सकस्थित रेड हाउस थिएटरमा रोनिश राउतद्वारा निर्देशित २३ मिनेटको नाटक पिस देखाएको थियो। नेपालको द्वन्द्वकालको विषयमाथि निर्माण गरिएको उक्त नाटकमा सन्जोग रसाइली माओवादी र मोहन जैशीले सेनाको भूमिका निर्वाह गरेका थिए।

नाटकपछि नेपालको सिनेमा, आर्ट र थिएटरको विषयमा अन्तरक्रिया गरिएको थियो। नाटक प्रदर्शनी र अन्तरक्रियासँगै नेपाली टोलीले त्यहाँस्थित थिएटर इन्स्टिच्युट, युनिभर्सिटी, ओपेरा हाउस, टेलिभिजन र आर्ट हाउसको अवलोकन गरेको थियो। फेस्टिवलको आयोजक नोभोसिबिर्सक स्टेट थिएटर इन्स्टिच्युट र झअन द लेफ्ट बेन्कञ थिएटर इन्स्टिच्युटका प्रतिनिधि गत जेष्ठमा नेपाल आएर कान्तिपुर फिल्म अकडेमीसँग नेपाल र रसियाबीच स्कलर एक्सचेन्ज र कल्चरल एक्सचेन्जका लागि सहकार्य गर्ने सम्झौता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्