बुसरासँग इमरान खानको तेस्रो विवाह



इस्लामावाद, (एजेन्सी)
पाकिस्तान तहरिक ए इन्साफ पार्टी (पीटीआई) ले आफ्ना नेता इमरान खानको बुसरा मानिकासँग विवाह भएको पुष्टि गरेको छ।

पीटीआईको तर्फबाट ट्विटरमा इमरान खानको तेस्रो विवाहको तस्वीर जारी गरिएको छ र उनलाई नयाँ विवाहको शुभकामना दिइएको छ। पीटीआईले आफ्नो ट्विटमा लेखेको छ– ‘आइतबार फेब्रुअरी १८ राति ९ बजे परिवारका सदस्य र नजिकका साथीहरूका बीच आज निकाह पूरा भयो।’

यसअघि गत महिना जब इमरान खानको विवाहको समचार बाहिर आउँदा पीटीआईका प्रमुखले विज्ञप्ति जारी गर्दै पार्टी प्रमुखले बुसरा मानिका नामका महिलालाई विवाहको प्रस्ताव दिएको र उनको जवाफ पर्खेर बसेको जानकारी गराएको थियो।

पाकिस्तान तहरिक ए इन्साफको ट्विटमा रिट्विट गर्दै बुसरा मानिकाले लेखेकी थिइन्– ‘अल्लाहको इच्छामा हामी एक नयाँ जिन्दगी थालिरहेका छौं। तपाईंहरूको आशिर्वादको आवश्यक छ।’

इमरान खान र बुसरा मानिकाको विवाहको समाचार बाहिर आएपछि सामाजिक सञ्जालमा पुनः एकपटक खैलाबैला मच्चिएको छ। ‘मुबारक इमरान खान’ पाकिस्तानमा टप ट्रेन्डमा परेको छ। पीटीआईका करिब सबै नेताले तत्काल इमरान जोडीका लागि बधाई सन्देश ट्विट गरेका छन्।

इमरान खानको दोस्रो विवाह टेलिभिजन एन्कर रेहम खानसँग सन् २०१४ मा भएको थियो। यद्यपि उक्त विवाह केही समयसम्म मात्र चल्यो तर त्यति बेला पनि उनीहरूको विवाहको समाचार पुष्टि हुन समय लागेको थियो। त्यति बेला पेसावर पब्लिक स्कुलमा भएको आक्रमणले पाकिस्तान पूरै शोकमा डुबेको थियो।

प्रतिक्रिया दिनुहोस्