यात्रुको अपान वायुका कारण विमान आपत्कालीन अवतरण



भियना, (एजेन्सी)
विमान आपत्कालीन अवतरणको इतिहासमा यो सम्भवतः पहिलो अनौठो घटना होला। एक यात्रुले अपान वायु त्याग गरी दुर्गन्ध फैलाउने काम नरोकेपछि विमानका पाइलटले आपत्कालीन अवतरण गरेका छन्।

दुबईबाट आम्स्टर्डम सिफोलका लागि उडानमा रहेको ट्रान्सविया एयरलाइन्सको विमानमा दुई डच पुरुषले आफूसँगै बसेका यात्रुलाई नपाद्नका लागि पटक–पटक आग्रह गरेको तर उनले त्यसलाई अस्वीकार गर्दै वायु त्याग गर्ने कार्य जारी राखेका थिए।

त्यसलाई लिएर यात्रुहरूले एयरलाइन्सका चालक दलका सदस्यहरूलाई गुनासो गरेका थिए। उनीहरूको गुनासोलाई लिएर चालक दलका सदस्यले पनि केही गर्न नसकेको मेट्रोले जनाएको छ। यसले ती पुरुष यात्रुहरूबीच झगडाको स्थिति उत्पन्न भयो। त्यसपछि पाइलट आफैंले हस्तक्षेप गर्दै यदि वायु त्याग्न नरोकेमा विमानलाई भियना विमानस्थलतर्फ मोड्न बाध्य हुने चेतावनी दिए। त्यसपछि उनले विमानलाई आपत्कालीन अवतरण गरे।

अवतरणलगत्तै प्रहरीले विमानबाट दुई महिला र दुई पुरुषलाई निकाले। पाइलटले ती यात्रुले विमानमा हुलदंगा गरेको रिपोर्ट दिएको मेट्रोले जनाएको छ। दिदी–बहिनी रहेका दुई महिलाले आफूलाई विमानबाट निकालेकोमा एयरलाइनलाई अदालतमा तान्ने बताएका छन्। उनीहरूले आफू उक्त झगडामा संलग्न नरहेको दाबी गरेका छन्। २५ वर्षीय कानुनका विद्यार्थी नोरा लाचाबले यस्तो हर्कतले आफूहरू अपमानित भएको बताएकी छिन्।

‘हामीलाई थाहा छैन ती केटाहरू को थिए, हामी उनीहरूकै पंक्तिमा हुनु नै हाम्रा लागि दुर्भाग्य भयो र हामीले केही गरेका थिएनौं। चालक दल सदस्यहरू नै वास्तवमा घटनालाई चर्काएका हुन्।’ –लाचाबले डी टेलेग्राफलाई बताइन्। प्रहरीले चारैजना यात्रुलाई रिहा गरेको छ। तर, उनीहरू सबैमाथि ट्रान्सविया एयरलाइन्समा भविष्यमा यात्रा प्रतिबन्द लगाएको छ।

‘चालक दलले सुरक्षित उडान सुनिश्चित गर्नुपर्ने र जब यात्रुबाट खतरा हुन्छ, उनीहरूले तत्काल हस्तक्षेप गर्नुपर्ने हुन्छ।’ – एयरलाइनले एक विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्