मूर्तिको औंला चोरलाई कडा सजाय माग



बेइजिङ, (एजेन्सी)
संयुक्त राज्य अमेरिकामा प्रदर्शनमा राखिएको एउटा टेर्राकोटा योद्धाको मूर्तिको बूढीऔंला चोर्ने एक व्यक्तिलाई कडा सजाय दिन चीन सरकारले अनुरोध गरेको सोमबार चिनियाँ सरकारी सञ्चार निकाय सिन्ह्वाले जनाएको छ। फिलाडेल्फियास्थित फ्रान्कलिन इन्स्टिच्युटलाई सहयोगस्वरूप प्रदान गरिएका १० वटामध्ये १ सो मूर्तिको मूल्य ४५ लाख अमेरिकी डलर रहेको छ।

गतसाता उक्त मूर्तिको औंला चोरेको आरोपमा गिरफ्तारीमा परेका माइकल रोहाना नामक व्यक्तिलाई जमानतमा रिहा गरिएको थियो। टेर्राकोटा सेना चीनको सबैभन्दा महत्त्वपूर्ण पुरातात्विक कलाकृतिमा पर्दछ। अदालतमा प्रस्तुत दस्तावेजमा २४ वर्षीय रोहानाले २१ डिसेम्बरमा फ्रान्कलिन इन्स्टिच्युटमा आयोजित अग्ली स्वेटर पार्टीमा सहभागी हुने क्रममा त्यतिबेला बन्द रहेको टेर्राकोटा योद्धा प्रदर्शनी कक्षमा छिरेको उल्लेख गरिएको छ।

संघीय अनुसन्धान ब्युरो (एफबीआई) लाई उद्धृत गर्दै सिन्ह्वाले मोबाइल फोनको फ्ल्यास लाइट प्रयोग गरेका रोहानाले १ जना योद्धासँग बसेर सेल्फी खिचेको र त्यसपछि आफ्नो हात मूर्तिको बाँया हातमा राखेका उनले केही चिज भाँचेर खल्तीमा राखेको जनाएको छ।

संग्रहालयका कर्मचारीहरूले ८ जनवरीमा बल्ल मूर्तिको बूढीऔंला भाँचिएको फेला पारेका थिए। पक्राउपछि रोहानाले सो औंला डेस्कको ड्रयरमा हालेको स्वीकारेका थिए। सोमबार फ्रान्कलिन इन्स्टिच्युटलाई ती मूर्ति उपलब्ध गराउने सान्सी सांस्कृतिक सम्पदा प्रबद्र्धन केन्द्रले उक्त इन्स्टिच्युटको लापरवाहीको घोर भत्सर्ना गरेको सीसीटीभीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्