कुहिन थाल्यो मैनबत्ती



नेपाल समाचारपत्र, हेटौँडा ।

गत शुक्रबार उनी बस्दै आएको हेटौंडाको भैरवरोड क्षेत्रमा साँझ ६ बजेतिर बिजुली गयो । लोडसेडिङ नभएको हेटौंडा बजारमा एकाएक बिजुली गएपछि अँध्यारो कोठालाई उज्यालो पार्न उनी पसलतिर लागे ।

मैनबत्ती खोज्दै हिँडे । धेरै पसल गए, तर मैनबत्ती पाएनन् । कुनै पसलमा पाए पनि सबै भाँच्चिएका, कुच्चिएका र ड्यामेज भएका मात्र पाए ।

अचेल लोडसेडिङ हुने नभएकाले मैनबत्ती बिक्री हुन छाडेको आफूले पाएको मनोहर लामाले बताए । उनले करिब एक दर्जन पसलमा सोधे, तर मैनबत्ती पाएनन् । टोलका किराना पसलेहरुले पनि लामाको जस्तै विचार राखे ।

मैनबत्तीको केही समय पहिले कति महत्व थियो । घरमा साँझ बत्ती गएको समय यसको साहारबिना अन्धकारमा बस्न बाध्य हुन्थे मानिस । साँच्चै, केही समयअघि पसलमा मात्र हाइन, घरघरमै मैनबत्तीको प्याकेट भेटिन्थ्यो । तर हाल घरमा त परै जाओस्, किराना स्टोर्समा पनि भेट्न मुस्किलजस्तै छ ।

लोडसेडिङ नहुने भएर यसको व्यापार घटेको मात्र हाइन, व्यापार नै हुन छाडेको व्यापारी मिश्री सिंहको भनाइ छ । मैनबत्ती हालको समयमात्र होइन, तिहारको बेलामा पनि त्यति बिक्री भएन । ‘त्यस बेला बिक्री गर्न ल्याइएको मैनबत्ती अहिलेसम्म छ,’ सिंहले भनिन् ।

तिहारको बेला पनि मैनबत्तीको व्यापार घटेको हेटौंडा–१०, बसपार्कका एक व्यापारीले बताए । त्यति बेला ल्याएको १० बण्डल मैनबत्तीमध्ये दुई बण्डल मुस्किलले बिक्री भयो । आठ बण्डल बिग्रिएको छ, ड्यामेज भएको छ ।

हेटांैडा–४, ख्वपःगल्लीस्थित श्रीगणेश किराना स्टोर्सका सञ्चालक सन्तोष दास भन्छन्– पसलमा मैनबत्ती राख्नै छोडिसक्यौं । ‘लोडसेडिङमुक्त भएपछि बिक्री पनि हुन छाड्यो, त्यसैले मैले यसको व्यापार गर्नै छोडें,’ दासले भने ।

भैरवरोडमा रहेको माँ सन्तोषी किराना स्टोर्सका जीतेन्द्र बनियाँका अनुसार मैनबत्तीको बिक्री पहिलाको तुलनामा ९९ प्रतिशत घटेकोे छ । ‘हामीले त उद्योगबाट मगाउनै छोडिसक्यौं,’ उनले भने–ल्याएर मात्र के गर्नु, बिक्री नै हँुदैन ।

प्रतिक्रिया दिनुहोस्