पुलिसको रवाफपूर्ण जित



नेपाल समाचारपत्र
हेटौंडा
तेस्रो संस्करणको टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले आइतबार रवाफपूर्ण जित दर्ता गरेको छ।

घरेलु मैदानमा पाहुना टोली नेपाल पुलिसले हेटौंडाको विजय युथ क्लबलाई ३–० को नमिठो पराजयको स्वाद चखाएको हो। पुलिसको जितमा दुई गोल गरेका अभिषेक रिजाल नायक बने। जितसंगै पुलिसले सेमिफाइनलमा स्थानमा सुरक्षित गरेको छ। फाइनल प्रवेशका लागि पुलिसले थ्रीस्टार क्लब र संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

शुरूआतबाट सशक्त प्रदर्शन गरेको पुलिसका लागि ११औं मिनेटमा रवि पासवानको सुन्दर पासमा अभिषेक रिजालले गोलको खाता खोलेका थिए। पहिलो हाफ सकिन ५ मिनेट बाँकी रहँदा रिजालले अग्रता दोब्बर पारेका थिए। उनको प्रहारको विपक्षी किपर अशोक बरालले पत्तै पाएनन्। दोस्रो हाफमा उत्तिकै सशक्त प्रदर्शन गरेको पुलिसका लागि ५९औं मिनेटमा रवि पासवानले गोल गर्दै टिमलाई ३–० को जित दिलाए। ८१औं मिनेटमा विजय युथ हेटौंडाका मनोज विष्टले पुलिसका सब्स्टिच्युट खेलाडी प्रिलेन तामाङलाई धकेलेर अपशब्द बोलेपछि रेफ्री पदमबहादुर भुजेलले रेडकार्ड दिएका थिए।

रेफ्रीले फाउल दिइसकेको अवस्थामा पनि तामाङलाई धकेलेपछि विष्ट मैदान छाड्न बाध्य भए। डिफेन्डर विष्ट रेडकार्ड पाएर मैदान बाहिरिएपछि विजय युथ १० खेलाडीमा सीमित बन्दा विजय युथले खासै ‘मुभ’ बनाउन सकेन। पुलिसले केही राम्रा मौका खेर फालेको थियो। प्रतियोगिताका म्यान अफ दी म्याच पुलिसका रिजाल भए। उनले नगद ५ हजार पुरस्कार प्राप्त गरे।

विजय युथका प्रशिक्षक सुबिन घिमिरेले नाम चलेका खेलाडी खेले पनि तयारी नपुगेका कारण हार ब्यहोरेको बताए। प्रशिक्षक घिमिरेले खेलाडीबीच ‘कम्बिनेसन’ नमिलेका कारण हार व्यहोर्नुपरेको बताए। ‘पुलिस फिजिकल्ली स्ट्रङ टिम हो।’

प्रतिक्रिया दिनुहोस्