इरानी विमान दुर्घटनामा सम्पूर्ण सवार मरेको आशंका



तेहरान, (एजेन्सी)
इरानको जारगोस पहाडी क्षेत्रमा आइतबार एउटा यात्रुबाहक विमान दुर्घटना हुँदा ६६ जना व्यक्ति मारिएको आशंका गरिएको छ। राजधानी तेहरानबाट दक्षिण पश्चिमी शहर यासुजतर्फ गइरहेको आसेमान एयरलायन्सको सो विमान इस्फाहान प्रान्तको सेमिरोम शहरनजिक खसेको सरकारी सूत्रले जनाएको छ।

दि रेड क्रिसेन्टले खोजी तथा उद्धार टोलीलाई घटनास्थलमा परिचालन गरेको छ। एयरलायन्सले एक विज्ञप्ति जारी गर्दै विमानमा सवार सबैको ज्यान गएको भन्ने भनाइ फिर्ता लिएको छ। कलसाइन ईपी ३७०४ बोकेको उक्त विमान स्थानीय समयअनुसार बिहान ४ बजेर ३० मिनेटमा उडेको र त्यसको एक घण्टा पछि दुर्घटनामा परेको बताइएको छ।न्युज च्यानल इरिनले यासुजदेखि २२ किलोमिटर टाढाको डेना पहाडमा विमान खसेको जनाएको छ। फ्रेन्च – इटालियन निर्मित सो दुईवटा इन्जिनयुक्त टर्वोप्रोप एटीआर ७२–५०० विमानमा ६६ जना यात्रु, २ जना सुरक्षा गार्ड, २ जना फ्लाइट एटेनडेन्ट, पायलट र को–पायलट रहेको बताइएको छ।

शुरुमा विमानका सम्पूर्ण यात्रु मरेको बताएका एयरलायन्सले पछि विज्ञप्तिमा उल्लेख गरेको छ,‘दुर्घटनाग्रस्त क्षेत्रको विकटताको कारण हामी अझै घटनास्थलमा पुग्न सकेका छैनौं। त्यसकारण हामी सम्पूर्ण यात्रुको मृत्यु यकिनका साथ पुष्टि गर्न सक्ने स्थितिमा छैनौं।’

खराब मौसमका कारण उद्धार प्रयास प्रभावित भएको छ। आपतकालीन सेवा टोलिहरू हेलिकोप्टरबाट नभई पैदल नै त्यसतर्फ प्रस्थान गुर्नपरेको छ। थुप्रै पुराना विमान प्रयोग गर्ने इरानमा पछिल्ला वर्षहरूमा धेरै संख्यामा हवाई दुर्घटना भइसकेको छ। आफ्नो विवादास्पद आणविक कार्यक्रमको कारण लगाइएको अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण इरानले आफ्ना बिग्रेका विमानहरूको मर्मतका लागि स्पेयर पार्टहरू प्राप्त गर्न संघर्ष गर्दै आएको छ। सन् २०१५ मा अमेरिकालगायतका शक्ति राष्ट्रहरूको समूहसँग भएको सम्झौतापछि अधिकांश नाकाबन्दी फुकुवा गरिएको थियो।

इरानको तेस्रो सबैभन्दा ठूलो एयरलाइन आसेमानले गत वर्ष ३० वटा पछिल्लो संस्करणको मध्यम दूरीका ७३७ बोइङ खरिद गर्न बोइङ कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्