मेक्सिकोमा ७ दशमलव २ म्याग्निच्युडको शक्तिशाली भूकम्प



मेक्सिको सिटी, (एजेन्सी)
मेक्सिकोमा केही महिनाभित्रै ७ दशमलव २ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रबिन्दु मक्सिकोको पिनोतेपा डि डन लुई प्रान्तनजिकै सतहबाट २४ दशमलव ८ किलोमिटरमुनि भएको जनाएको छ। भूकम्प प्रभावित इलाकामा केही भवनलाई नोक्सान पुगेको तर तत्काल कसैको मृत्यु भएको समाचार आएको छैन।

दक्षिणपश्चिम मेक्सिकोमा आएको उक्त भूकम्पको झट्का ३ सय ५० किलोमिटर दूरीमा रहेको राजधानीमा पनि महससु गरिएको छ। शुक्रबार आएको उक्त भूकम्पका कारण राजधानी मेक्सिको सिटीमा हजारौं नागरिक घरबाट बाहिर निस्केका थिए। राजधानीको सडकमा केही रुँदै गरेको र केही एक अर्कालाई ढाढस दिँदै गरेका देखिन्थे। भूकम्पले केही समय ट्राफिक पनि अवरुद्ध भएको थियो। गत वर्ष सेप्टेम्बरमा मेक्सिकोमा आएको भीषण भूकम्पमा सयौंको मृत्यु भएको थियो। मेक्सिको सिटीमा बस्ने लुई रोड्रिग्जले भने– ‘सेप्टेम्बर १० पछि धेरै डर लाग्न छोडेको छ।’

तर अर्काे एक महिलाले आफ्नै घर कुनै पनि बेला आफैमाथि थिच्चिन आउन सक्ने सोच आउनु नै अत्यन्त डरलाग्दो भएको बताइन्।

ताजा धक्कापछि गत सेप्टेम्बरमा आएको भूकम्पमा भत्केको भवनबाट धुलो उडेको देखियो। भूकम्प आएपछि प्रशासनले मेक्सिको सिटीसहित पाँचै राज्यमा चेतावनी दिने प्रणालीलाई सक्रिय पारेको छ।

नागरिकहरूलाई घरबाट पर बस्न भनिएको छ।
प्यासिफिक सुनामी सेन्टरले सुनामी आउने खतरा नभएको जनाएको छ। मेक्सिको भूकम्पको दृष्टिकोणले विश्वको सबैभन्दा अस्थिर हिस्सामा पर्छ। यो उत्तर अमेरिकी, कोको र प्यासिफिक प्लेटमा पर्छ जुन पृथ्वीको सबैभन्दा ठूलो टेक्टोनिक प्लेट हो।

प्रतिक्रिया दिनुहोस्