कोरियाबाट “लेबर कन्ट्रयाक्ट” आउन शुरू



रोविन पौडेल, काठमाडौं

वैदेशिक रोजगारीका लागि आकर्षणको केन्द्र बनेको दक्षिण कोरिया जानका लागि दिनुपर्ने ईपीएस भाषा परीक्षामा उत्तीर्ण नेपाली कोरिया जाने क्रम शुरू भएको छ। दक्षिण कोरियाको मानव संशाधन विभागले भाषा परीक्षामा उत्तीर्ण १ हजार ६ सय कामदारको श्रम सम्झौता पठाएसँगै कामदार कोरिया जाने बाटो खुलेको हो।

वैदेशिक रोजगार विभाग एपीए कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार सन् २०१७ को भाषा परीक्षामा पास भएका १ हजार ६ सय जनाको श्रम सम्झौता विभागमा आइसकेको छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै निर्देशक खतिवडाले भन्नुभयो– ‘कोरियाले सन् २०१८ का लागि पहिलो चरणमा लेबर कन्ट्रयाक्ट पठाउने कार्य तीव्र पारेको छ। यसै चरणमा कोरियाले बाँकी धेरैको संख्यामा पहिलो चरणमा लेबर कन्ट्रयाक्ट पठाउने अपेक्षा गरेका छौं।’ सन् २०१८ का लागि भाषा परीक्षा उत्तीर्ण गरेका ५ जना कोरिया उडिसकेका छन्।

गत वर्ष पहिलो चरणमा ५ सय कामदारको मात्रै कन्ट्रयाक्ट आएकोमा यस वर्ष भएको वृद्धिले पहिलो लटमै कोरियाले राम्रो संख्यामा कन्ट्रयाक्ट पठाउने संकेत गरेको छ। कोरियाले पहिलो चरणमा लेबर कन्ट्रयाक्ट पठाउने काम फेब्रुअरी महिनामा गर्दै आएका छ। कोरियाले यसै साता सन् २०१८ का लागि ईपीएस उत्तीर्ण गरेका नेपाली कामदारको छनोट थालेको हो।

यस वर्ष कोरिया जाने भाषा परीक्षामा गत वर्षको तुलनामा ३ गुणा बढी कामदार उत्तीर्ण भएका थिए। अघिल्लो वर्ष ३ हजार ५ सय युवाले भाषा परीक्षामा उत्तीर्ण गरेकोमा यस वर्ष सो संख्या करिब १२ हजार रहको छ। गतवर्ष नै उत्तीर्ण भएका करिब डेढ सयले अझै लेबर कन्ट्रयाक्ट पाएका छैनन्।

शाखाका निर्देशक खतिवडाका अनुसार लेब कन्ट्रयाक्ट आउनेले अब शाखाको कार्यालयमा गएर आफ्नो दर्ता तथा दाबी गर्नुपर्छ। त्यसपछि भिसा प्राप्त गर्न सीसीभीआई प्रत्रियामा जानेछ। त्यसअवधिमा कामदारले पुलिस रिपोर्ट, मेडिकल रिपोर्ट तयार गरिसक्नुपर्छ। यही अवधिमा कामदारले १ हप्ते तालिम लिइसक्नुपर्ने खतिवडाले जानकारी दिनुभयो।

विभागका सूचना अधिकारी शोभाकर भण्डारीका अनुसार कोरियाले पछिल्लो केही दिन दैनिक २० देखि ५ सयको संख्यामा लेबर कन्ट्रयाक्ट पठाएको छ। उहाँले भन्नुभयो–‘अब ५ देखि ७ दिनसम्म पहिलो चरणको श्रम सम्झौता आउने क्रम जारी रहन्छ। दोस्रो चरण मे महिनामा शुरू हुन्छ।’ अहिले ११ हजार ८ सयभन्दा बढी कामदार श्रम सम्झौताको प्रतीक्षामा छन्। भाषा परीक्षामा पास हुँदैमा कोरिया जाने निश्चित भने नभएको उहाँ दाबी गर्नुहुन्छ।

भण्डारीले भन्नुभयो– ‘रोजगारदाता कम्पनीको छनोटमा को पर्छन सोही आधारमा मानव संशाधन विभागले लेबर कन्ट्रयाक्ट पठाउने हो। उताबाट नाम लिस्ट आए पनि मात्र हामीलाई थाहा हुन्छ।’ विभागले चार चरणमा श्रम सम्झौता पठाउने गर्छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत् यस वर्षका लागि १२ हजार १ सय ८ परीक्षार्थी कोरियाली भाषा परीक्षामा उत्तीर्ण भएका थिए। गत वर्ष भाषा परीक्षा दिने संख्या ६८ हजारभन्दा बढी रहेको थियो। सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन शुरू गरेको हो। हालसम्म दक्षिण कोरियामा ईपीएसमार्फत् ३५ हजारभन्दा बढी हजार नेपाली युवा पुगिसकेका छन्।

भाषा परीक्षाको आवेदन चैत दोस्रो साता

काठमाडौं, (नेस)
दक्षिण कोरिया जानको लागि हरेक वर्ष लिइने ईपीएस कोरियन भाषा परीक्षाको आवेदन फारम चैतको दोस्रो सातादेखि खुल्ने भएको छ। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार यही फागुन अन्तिम साता सूचना जारी गरी चैतको दोस्रो सातादेखि एक हप्ताका लागि भाषा परीक्षाका लागि आवेदन दिन सकिने छ।

भाषा परीक्षा २०७५ जेठ अन्तिममा हुने शाखाले जनाएको छ। गत वर्षको परीक्षामा १० हजार ८ सय जना उत्तीर्ण भएका थिए। गत वर्ष ७६ हजार जनाले आवेदन दिएकोमा ६८ हजारले भाषा परीक्ष्ाँ दिएका थिए।

प्रतिक्रिया दिनुहोस्