पूर्वसञ्चारमन्त्री बस्नेतद्वारा मन्त्रीको हैसियतमा चलचित्र नगरीको शिलान्यास



चिरञ्जीवी मास्के, दोलखा

दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ खरीढुंगाको डाङडुङे डाँडामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय फिल्म नगरीको शिलान्यास पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गरेका छन्।

सञ्चारमन्त्री रहेकै अवस्थामा शिलान्यासका लागि खरीढुंगा पुगेका सञ्चारमन्त्री बस्नेत प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिई एमाले अध्यक्ष केपी ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेपछि चलचित्र नगरीको शिलान्यास अघि नै पूर्वसञ्चारमन्त्री बनिसकेका थिए। तर उनले मन्त्रीकै हैसियतमा झण्डासहितको मोटरमा आएर नगरीको शिलान्यास गरे।


फिल्म नगरीको शिलान्यास गर्दै पूर्वसञ्चारमन्त्री बस्नेतले नेपालको पहिलो फिल्म नगरीलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रतिबद्धता व्यक्त गरे। आफू पदमा रहेर वा नरहेर पनि फिल्म नगरीको लागि निरन्तर सहयोग गरिरहने उनले बताए। फिल्म नगरी आसपास एयरपोर्ट र पाँचतारे होटल निर्माणलगायतको योजना रहेको उल्लेख गर्दै बस्नेतले खरीढुंगाको फिल्म नगरी हेर्न विदेशी कलाकारसमेत आउने दाबी गरे। उनले नेपाली फिल्म क्षेत्रलाई उच्च व्यावसायिक बनाउन आफूले बक्स अफिसको समेत स्थापना गरेको प्रसंग उल्लेख गर्दै फिल्म नगरीले फिल्मकर्मीहरूलाई व्यावसायिक बन्न टेवा पुग्ने बताए।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको सभापतित्वमा भएको शिलान्यास कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, फिल्म नगरीका अभियन्ता एवं अभिनेता मदनदास श्रेष्ठ र फिल्म विज्ञ प्रकाशजंग कार्कीले मन्तव्य व्यक्त गरेका थिए।

खरीढुंगाको १५ सय रोपनीमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय फिल्म नगरीको लागि सरकारले संरचना निर्माण गरिदिने र सहयोगी खोजेर फिल्म स्टुडियोलगायतका संरचना निर्माण गरिने मदनदासले बताए। फिल्म नगरीको लागि सरकारले अहिलेसम्म करिब ३ करोड उपलब्ध गराइसकेको छ।

प्रतिक्रिया दिनुहोस्