भ्याइनभ्याइ



मुलुकमा नयाँ प्रधानमन्त्री चयन भएपछि मन्त्रलायका कर्मचारीलाई भ्याइनभ्याइ भएको छ। हुन पनि कुन मन्त्रीलाई कति बेला नियुक्त गर्ने हुन्, कस्ता अनुहारका मन्त्री आउने हुन् कसरी पत्तो पाउनु र नाम लेखेर राख्नु भन्या। शपथ खानुभन्दा केही मिनेटअघि मात्रै मन्त्रीले थाहा पाउँदा रहेछन् अनि परेन त फसाद्।

अब हुनेवाला मन्त्रीज्यूहरूलाई यो धरहराको सुझाव पनि छ। जतिबेला जहाँ गए पनि औपचारिक पोसाकमा नै जाने। यसरी जाँदा फ्याट्ट मन्त्रीको शपथ खानेमा आफ्नो नाम आइहाल्यो भने पनि सजिलो हुन्छ। उता मन्त्रालयका कर्मचारीलाई पनि व्यवस्था मिलाउन सजिलो हुने गजब भएन र। नेपाली काइदा एकतिर जानाले दुईतिर फाइदा।

बिचरा⁄ मन्त्रालयका कर्मचारीलाई पनि गाह्रो छ क्या । कुन अनुहारका आउने हुन्, कसरी फोटोसहित नामावली तयार पार्ने। पहिल्यै तयार पारौं लिस्ट नै थाहा हुन्न हतारहतारमा आएपछि तयार पार्यो गडबड पनि हुन सक्छ। त्यसैले होला मन्त्रालयका अधिकारीहरूले आफ्नो करिब ३१ वटा मन्त्रालयमध्ये १० वटामा मात्रै अपडेट गर्न भ्याएछन् । बाँकीमा पुरानै मन्त्रीका नाम राखेछन्।

प्रतिक्रिया दिनुहोस्