वातावरणमैत्री प्रविधि भित्र्याउन सकारात्मक



काठमाडौं, (नेस)
इँट्टा उत्पादनमा प्रयोग भइरहेको परम्परागत विधि प्रतिस्थापन गर्दै वातावरणमैत्री प्रविधि भित्र्याउन दक्षिण एसियाका इँट्टा व्यवसायी सकारात्मक बनेका छन्।

इँट्टा उत्पादनमा अत्याधिक प्रयोग हुने कोइला र अन्य परम्परागत इन्धन घटाउन उनीहरूले ऐक्यबद्धता जनाएका हुन्। वातावरण प्रदुषण गराउने धेरै कारणमध्ये इँट्टा उद्योगको भूमिका धेरै रहेको चर्चा भइरहेका बेला सामूहिक पहलबाट वातावरणमैत्री अभ्यास कार्यान्वयन गर्न सकिने व्यवसायीको ठहर छ।

एक अर्को मुलुकमा भइरहेका अभ्यास र ज्ञान बाढ्न काठमाडौंमा भेला भएका उद्योगीले यस्तो बताएका हुन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र नेपाल इँट्टा उद्योग महासंघले नेपाल, भारत, बंगलादेश र पाकिस्तानका निजी क्षेत्रका व्यवसायीलाई काठमाडौंमा जमघट गराएको हो। भारत, बंगलादेश र पाकिस्तानका १५ जना इँट्टा व्यवसायी नेपाल आएका छन्।

नेपाल सहितका यी चार मुलुकमा डेढ लाखभन्दा बढि इँट्टा उद्योग रहेको अनुमान गरिएको छ। विगत केही वर्षयता इँट्टा उद्योगमा सुधारिएको चिम्नी प्रयोगमा ल्याइए पनि परम्परागत विधिले निरन्तरता पाउँदा प्रदूषण बढेको वातावरणविद्हरूको तर्क छ। यही कारणले अन्य मुलुकको तुलनामा दक्षिण एसियामा पाकिस्तानमा प्रदूषण केही बढी रहेको बताइन्छ। प्रदुषण न्यूनीकरणका लागि बंगलादेशले एक दशक अघि नै कानुन बनाए पनि कार्यान्व्यन फितलो रहेको इसिमोडका अधिकारी बताउँछन्।

दक्षिण भारत र श्रीलंंकाका धेरै स्थानमा परम्परागत ठाडो भट्टा प्रयोगमा रहेकाले त्यस्तो अभ्यासले प्रदूषण बढाइरहेको उनीहरूको तर्क छ। वातावरण संरक्षण ऐन २०५४ कार्यान्वयनमा आएसँगै मुलुकका इँट्टा भट्टामा इन्धनको रूपमा दाउराको प्रयोग हुन छोडेको नेपाली व्यवसायी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्