भाषण मात्रै कि काम पनि ?



सुन्दर अनि सानो देश, सात प्रदेश, सयौं सभासद, सयौं नेता, दर्जन बढी राष्ट्रिय स्तरका दल, पचास प्रदेशमन्त्री, अझै केन्द्रमा कति पुग्ने हो मन्त्री, त्यसको ठेगानै छैन। अब त्यो सबै केपी शर्मा ओलीको हातमा छ। वाम गठबन्धनको हातमा छ। जति मन्त्री भए पनि, जति नै संघीयता आए पनि जनताले एकछाक खाना र एकसरो लुगा नपाएर भौंतारिनुपरेको छ। भोकभोकै रात काट्नुपरेको छ। लाज ढाक्न पनि कठिन भैसकेको छ। यस्तो विश्वकै सुन्दर देश नेपाल, तर केही भ्रष्ट नेता, कमिसनको लालची कर्मचारी अनि एनजीओ र आईएनजीओले यो देश तहसनहस गराएका छन्।

यो सुन्दर देशलाई यिनीहरुले कुरुप बनाएका छन्। चुनावको बेला मात्रै देखा पर्ने नेताले जनताको काममा चासो दिँदैनन्। चुनाव जित्ने बाटोमा उनीहरु पैसाको खोलो बगाउँछन् अनि जितेपछि त्यसको चौगुना पैसा कमाउन तल्लीन हुन्छन् हाम्रा नेताहरु।

शान्तिका दूत गौतम बुद्ध जन्मिएको यो देश, आज अशान्त बनेको छ। देशसँग सबै कुरा भएर पनि, दुर्भाग्यवश गरिब हुन बाध्य बनेका छन् यहाँका जनता। प्राकृतिक स्रोतसाधनले पूर्ण यो देशलाई कंगाल बनाएर लुटेर खानेहरुले कहिले सोच्ने हो, घर जलाएर पाएको खरानीले त्यति धेरै महत्व राख्दैन भनेर। उनीहरु विदेश भ्रमणमै करोडौं स्वाहा गराउँछन्। आर्थिक मसान्त सकिएको एकहप्ता नबित्दै सबै सचिवको सयर भएको छ। उनीहरुलाई विदेश प्यारो हुन्छ तर आफ्नै देशको दुर्गम छेत्र र गाउँमा जाने समय यिनीहरुलाई हुँदैन।

आफ्ना छोराछोरीलाई विदेशमा पढाउने तर गरिब जनताका छोराछोरीलाई आन्दोलनमा सहभागी गराई राष्ट्रियताको ढोंग हेराउने नेता जबसम्म देशको नेतृत्व गर्नेछन् तबसम्म देश यो दुर्दशाबाट मुक्त हुनेछैन। देश गरिब आर्थिक कमीको कारणले भएको हैन, नेतृत्वको सोचले हो। असल नेतृत्व गर्ने व्यक्ति नभएको कारणले हो। जुन दिन देशमा मधेसीले पहाडी, पहाडीले मधेसी, पश्चिमीले पुर्वेली र पुर्वेलीले पश्चिमीलाई आफ्ना हुन् भन्ने बुझ्छन् त्यो दिन यो देश आर्थिक मत्र हैन हरेक कुरामा विकसित हुनेछ।

त्यसैले यो लेखमार्फत म सबै नेता, मन्त्री एवम् दललाई एकजुट भई देशको विकास गर्न मद्दत पुर्याउन हार्दिक अनुरोध गर्दछु। साथै एकजुट हुन सबैसँग अग्रह गर्दछु। देशलाई चाहिएको राष्ट्रिवादी नेता हो, लम्पसारवादी हैन। त्यसैले राजनीति गर्नु नै छ भने राष्ट्रियताका लागि गरौं, कुनै भाषा, जात, धर्मका लागि हैन। अब नयाँ सरकार आएपछि रेलदेखि तेलसम्मको पहुँच कस्तो हुँदो रहेछ, त्यो हामीले हेर्नै बाँकी छ। लोकप्रिय बन्नका लागि झुट्टा आश्वासन त दिएका छैनन् नेताले ? मीठो भाषण गरेर एकता भन्दै जनताको नाममा छारो हाल्ने काम त गरेका छैनन् नेताहरुले ? यो कुरा भने हामीले सोच्नु जरुरी छ।

– हेमराज काफ्ले, पोखरा

लामो दूरीमा सवारी दुर्घटना बढी, ध्यानाकर्षण खोई ?

यो धर्तीमा मानिसको जन्म हुन्छ र जन्मेपछि मर्नु पनि पर्दछ। यो कुरा सबै व्यक्तिलाई थाहा नभएको पनि होइन। प्रायः मानिस मृत्युदेखि डराउँछन्, कतिपय डराउँदैन पनि। कोही भने मर्ने समयमा दुःख, सास्ती नहोस्, यति मात्र चाहन्छन्। अक्सर मानिसको चाहना हुन्छ, सजिलै मृत्यु होस् तर यी कुरा हामीले चाहेर हुने कुरा होइनन्। कारण आफ्नो भाग्यमा कसरी मर्न लेखेको छ, त्यस प्रकार नै मानिसको मृत्यु हुन्छ।

यही सिलसिलामा कुरा गर्दा काल आएर भनौं वा नआएर भनौ, अक्सर मानिस सवारी दुर्घटनाबाट पनि ज्यान गुमाइराखेका हुन्छन्। तर यसमा प्रायः एक व्यक्तिका कारणले गर्दा धेरै व्यक्तिको ज्यान गइराखेको हुन्छ। सर्वप्रथम लामो दूरीको सडक दुर्घटनामा गल्ती चालक महाशयको कै हुने गर्दछ, कारण चालक महाशयहरु हाम्रो मुलुकमा अक्सर अनपढ, अल्लारे र रक्सी खाने स्वभावका हुने गरेका हुन्छन्। त्यसमाथि लामो यात्राका कारण यिनीहरु निन्द्राले गर्दा ड्राइभिङ काबुभन्दा बाहिर हुन्छ। त्यसकारण लामो दूरीमा सडक दुर्घटना हुने मुख्य कारण यो पनि एउटा हो।

अब आएर हाम्रो मुलुकमा लामो दूरीका सडक दुर्घटनामा यस्ता दुर्घटना हुन नदिन सरकार तथा सम्बन्धित निकाय नै कडा भएर अनेक कदमहरु चाल्नुपर्दछ। अन्यथा यस्ता घटनाहरु सधैँ दोहोरिएर मानिसको अकालमा ज्यान गइराख्ने हुनसक्छ। सरकारले केही विधिहरु अपनाउने हो भने यस्ता दुर्घटना कम हुनेछन्। सर्वप्रथम चालक अनुमतिपत्र सम्बन्धित निकायहरुले समय–समयमा जाँच गर्ने गर्नु अनिवार्य छ। कारण नक्कली अनुमतिपत्र, नयाँ सिकारु ड्राइभर आदि कारणले गर्दा सडक दुर्घटना भइराखेको हुन्छ।
खाल्टाखुल्टी सडक अनि पहिरो र मोडहरुबाट सवारीसाधन बचाउन सरकारले यस्ता ड्राइभरहरुलाई बेलाबेलामा ध्यानाअकर्षण गर्नु जरुरी छ। जस्तै माटाका ढिस्कोहरुलाई निर्मूल पार्नु, जोखिम मोडहरुलाई चौडा गर्नु, यसबाहेक सपोर्टिङ वालहरु लगाउनु तथा बिग्रेका सडकको समय–समयमा मर्मत–सम्भार भइराख्नु जरुरी छ। भौगोलिक वातावरण तथा पहाडी भाग धेरै हुनु र धेरै मोडहरुले गर्दा नै हाम्रो मुलुकको लामो दूरीमा प्रायः दुर्घटना भइराखेको हुन्छ। त्यसैले यस्तो अवस्थामा चालकहरुले रक्सी, गाँजा आदि खाएर सवारी हाँक्छन् भने यस्ता चालकका अनुमतिपत्र सम्बन्धित निकायले खारेज गर्न सक्नुपर्दछ। साथै कैद तथा जरिबाना पनि गर्नुपर्दछ।

प्रायः पैसाको लोभमा सवारीमा भेडाबाख्राजस्तै कोचेर लगिराखेका हुन्छन्। यस्ता चालक तथा खलासीलाई पनि कैद तथा जरिबाना गर्नुपर्दछ। कारण बढी यात्रुहरुको चापले पनि लामो यात्रामा सडक दुर्घटना भइराखेको हुन्छ। हाम्रो जस्तो पहाडै पहाडको मुलुकमा वर्षातको मौसममा प्रायः फ्लाइटहरु कम हुन्छ, अथवा बन्द नै पनि हुने गर्छ। यसै गरी बेमौसममा लगातार वर्षाद भइराखेको समयमा केही समयका लागि लामो दूरीमा चल्ने सवारी आवतजावतमा सरकारले प्रतिबन्ध लगाइदिनुपर्दछ। कारण यस्तो बेला सडकमा चिप्लिएर गाडी दुर्घटना हुने गरेको कुरा हामीले नसुनेको होइन।

चालकहरुले लामो दूरीका सडकमा गाडी एकदम स्पिडमा लाने गर्दछन्। यो पनि गाडी दुर्घटना हुने कारण हो। यस्तो अवस्थामा सरकार अथवा सम्बन्धित निकायले लामो दूरीका सडकहरुका ठाउँ–ठाउँमा स्पिड कन्ट्रोल बोर्ड राख्नु जरुरी छ, जुन हाम्रो मुलुकमा नपुग छ। लामो दूरीका सडकको कुरा गर्दा अहिले पनि नेपालमा कतिपय सडक साँघुरा छन्, जसले गर्दा दुईवटा गाडीहरु पनि पास हुन मुस्किल पर्दछ। त्यसैले सम्बन्धित निकायले यस्ता सडकलाई तुरुन्त फराकिलो गर्नु जरुरी छ।

यो मुलुकमा प्रायः गाडी दुर्घटना गरेर चालकहरु भागिहाल्ने गर्दछन्। यस्तो अवस्थामा सम्बन्धित निकाय तथा यातायात व्यवसायी संघले हल्कारुपले हेरिराखेका हुन्छन्। सुनिनमा आउँछ कि सवारी व्यवसायी संघहरु नै यस्ता गलत चालकहरुलाई सपोर्ट गरेर उनीहरुलाई बचाउने प्रयास गरिराखेका हुन्छन्, जुन बिल्कुलै गलत कुरा हो।
– रमेश केशरी वैद्य, काठमाडौं

प्रतिक्रिया दिनुहोस्