दिगो सरकारको चाहना



कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीबाट सपथ पनि लिइसक्नुभएको छ । प्रधानमन्त्री ओलीलाई आगामी कार्यकालको सफलताको कामनासहित हार्दिक शुभकामना ∕ साथै प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको नयाँ सरकारलाई समेत दिगो शान्ति, सहमति र एकता कायम राख्दै राष्ट्रको सर्वोपरि हितमा काम गर्न सफलता मिलोस् भन्ने कामना गर्दछौं ।

निर्वाचन आयोगले गत बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो । अब नवनियुक्त प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । हुन त वामगठबन्धनको सहमति र योजनाअनुसार नै प्रधानमन्त्री बन्नुभएकाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त गर्न कुनै कठिनाइ नपर्ला । तर उहाँको नेतृत्वको सरकार लामो समय टिक्ला वा नटिक्ला ? यतिखेर जनताका इच्छा–आकांक्षा अनेक छन् । चुनावमा दलहरु आफैंले बाँडेका अश्वासनका चाङ पनि कम छैनन् । पूरा हुन नसक्ने अश्वासन त छँदै छन् पूरा गर्न सकिने खालका अश्वासनका पोका पनि बजेटको अभावमा खोल्न सकिने अवस्था छैन । त्यसैले ओली नेतृत्वको सरकारका लागि आगामी दिन कम चुनौतिपूर्ण छैन ।

तीनै तहको निर्वाचन सम्पन्न भई प्रदेश प्रमुखहरु पनि नियुक्त भैसकेका छन् । केही प्रदेशमा सरकार निर्माणको प्रक्रिया अघि बढिसकेको छ । बाँकी प्रदेशमा केही दिनमै सरकार निर्माण र प्रदेशसभा नेतृत्व चयन गर्ने कार्य पूरा हुनेछ । यता नयाँ केन्द्रीय सरकारको गठन प्रक्रिया पनि अगाडि बढिसकेको छ । यी कार्यहरुले नागरिकमा केही उत्साह र आशा त जगाएको छ । तर वाम गठबन्धन कत्तिको बलियो र टिकाउ हुने हो, यसमा भने अझै शंका नै छ । यदि वाम गठबन्धन धर्मरायो भने नवगठित सरकार पनि गल्र्यामगुर्लुम हुन बेर लाग्दैन । अब जनताले स्थायी सरकार चाहेका छन् । यसैका लागि वामगठबन्धनलाई रोजेका हुन् । त्यसैले प्रधानमन्त्री ओली नेतृत्वको सरकार दिगो होस् । उहाँलाई आगामी कार्यकालको सफलताको कामना !

प्रतिक्रिया दिनुहोस्