उपभोक्ता ठगीमा मुद्दा दायर गर्दै विभाग



हेमन्त जोशी, काठमाडौं

बजार अनुगमनका क्रममा भेटिएको कैफियत बमोजिम व्यवसायीलाई कारबाही गर्न प्रहरीलाई फाइल पठाए पनि कार्यान्वयन फितलो देखिएपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अदालतमा आफैं मुद्दा दायर गर्ने तयारी गरेको छ।

बजार अनुगमनका लागि अधिकार पाएको विभागले पछिल्लो सयम अनुगमनमा चुस्तता देखाएपछि ठूला घरानाको एकपछि अर्को गर्दै कालो कर्तुत बाहिरिन थालेका छन्।

विभिन्न क्षेत्रका ठूला घरानाले वस्तु तथा सेवाको बिक्री वितरणमा उपभोक्ताबाट अस्वभाविक मूल्य असुली गर्दै कालोबजारी र ठगी गरेको प्रमाण भेटाउँदासमेत उनीहरूलाई कारबाहीको दायरामा ल्याउन सकिएको छैन। विभागले कालोबजारी तथा ठगी मुद्दा दायर गर्न प्रहरीलाई पर्याप्त प्रमाण उपलब्ध गराए पनि कारबाही फितलो देखिएपछि विभाग आफैंले मुद्दा दायर गर्न प्रक्रिया अगाडि बढाएको हो।

बुधबार विभागले ६ वटा अन्तर्राष्ट्रिय ब्रान्डका चारपांग्रे सवारी बिक्री वितरण गर्दै आएका कम्पनीको सक्कल फाइल जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायका लागि पठाएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार विभाग आफैंले मुद्दा दायर गर्दा कुन ऐनको कुन दफा आकर्षित हुन्छ र कुन प्रक्रियामार्फत् अगाडि बढ्न सकिन्छ भन्दै सरकारी वकिलको कार्यालयलाई राय माग गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालयमा कानुनी रायका लागि पठाएको पत्रको जवाफ पाएपछि विभागले कारबाहीको प्रक्रिया अगाडि बढाउने जनाएको छ। अटोमोबाइल्स कम्पनीलाई कारबाही गर्नका लागि भन्सार ऐन २०६४, मूल्य अभिवृद्धि कर ऐन २०५२, उपभोक्ता संरक्षण ऐन २०५४ र कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ आकर्षित हुने देखिन्छ। विद्यार्थीबाट चर्को र अस्वभाविक मूल्य असुल्ने विद्यालयको हकमा भने संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७३ बमोजिम कारबाही अगाडि बढाइने विभागले जनाएको छ।

महानिर्देशक दाहालका अनुसार कालोबजारी वा ठगी मुद्दामा प्रहरीलाई थप अनुसन्धान र कारबाही गर्न सिफारिस गरे पनि त्यसको प्रभावकारीता नदेखिएपछि विभाग आफैं मुद्दा दायर गर्न लागेको हो। ‘प्रहरीलाई कालोबजारी मुद्दामा अनुसन्धानका लागि एक वर्षको समयावधि छ।
त्यसबीचमा व्यवसायीले अनेक चलखेल गरेर मुद्दा मिलाईसकेका हुन्छन्। अब विभागले दिएका प्रमाणलाई नै अन्तिम आधार मानी कारबाही अगाडि बढाउन लागेका हौं।’ नेपाल समाचारपत्रसँग कुरा गर्दै दाहालले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्