वैशाखमा पसिना



पसिना नामक फिल्म आगामी वैशाख १४ गते रिलिजमा आउने भएको छ। राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी सो फिल्म रिलिज गर्ने घोषणा गरिएको हो।

ननस्टप क्रियसनको ब्यानरमा निर्माण भएको पसिना मजदुर दिवसको छेको पारेर रिलिजमा ल्याउन लागिएको हो। फिल्ममा श्रमिकको हक–हितको कथा बोल्ने निर्मात्री शान्ता ढाकालले जानकारी गराइन्।

आरबी खत्री ‘शरद्’ निर्देशित फिल्मले विशेषत महिला श्रमिकको पीडालाई उठान गरेको छ। शान्ता ढकालसँगै इन्जिनियर सञ्जय महतोको लगानी रहेको फिल्ममा गौरव पहाडी, अनु शाह, सरोज खनाल, रवि गिरी, ध्रुव कोइराला, जयनन्द लामा, सरोज अर्याल, सरिता राजोपाध्य, सिर्जना अधिकारी, शिवशंकर रिजाल, सुरजनी केसी, शारदा गिरीलगायतका कलाकारले अभिनय गरेका छन्। राजनराज शिवाकोटी, थिराज राई र दीपक शर्माको संगीत रहेको फिल्म नवीन निरौलाले सम्पादन गरेका छन् भने शिव विकको नृत्य निर्देशन तथा देव महर्जनको द्वन्द्व र राम केसीको छायांकन रहेको छ।

सामाजिक र यथार्थ घटनालाई फिल्ममा उतार्ने प्रयास गरिएको निर्देशक खत्रीले बताए। सोही अवसरमा फिल्ममा रहेको एक गीत पनि सार्वजनिक गरिएको छ। हावा चल्यो सिरिरी बोलको यो गीतमा नारद रिजालको शब्द, राजनराज शिवाकोटीको संगीत र स्वर रहेको छ भने गौरव र अनुलाई फिचरिङ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्