“वासिङ्टन प्योङयाङको परमाणु हतियारसँग डराएको छ”



न्युयोर्क, (एजेन्सी)
संयुक्त राष्ट्र संघका लागि उत्तर कोरियाका राजदूतले अमेरिकी अधिकारीहरूले जुन रूपमा आलोचना गरिरहेका छन्, त्यसले वासिङ्टन प्योङ्याङको परमाणु हतियारसँग डराएको छ भने देखाएको बताएका छन्।

उत्तर कोरियाबाट भागेका जी सियोङ होलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टेट अफ युनियन सम्बोधनका लागि अमेरिकामा आमन्त्रण गरिनु त्यसको संकेत भएको उत्तर कोरियाले जनाएको छ। अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अटो बार्मवियरका पितालाई शीतकालीन ओलम्पिकमा आफूसँग लिएर जानुले पनि अमेरिका उत्तर कोरियाको परमाणु शक्तिसँग कति धेरै डराएको र भ्रममा परेका छन् भन्न देखाएको छ।

विश्वविद्यालयका छात्र बार्मवियरको उत्तर कोरियाली हिरासतबाट रिहा भई अमेरिका फर्केको केही दिनपछि नै मृत्यु भएको थियो। उत्तर कोरियाका संयुक्त राष्ट्र मिसनले सोमबार अमेरिकाको दुवै कदमलाई ट्रम्प प्रशासनद्वारा देशको कथित मानवाधिकार र्याकेटलाई कायम राख्नका लागि गरेको हतासपूर्ण कारबाही भएको बताए। मिसनमा निर्देशकले जी सियोङ होलाई खराब व्यक्तिको संज्ञा पनि दिए। उत्तर कोरियामा मानवअधिकारको उल्लंघनलाई लिएर अमेरिकाले व्यापक आवाज उठाउँदै आइरहेको छ। तर उत्तर कोरिया मिसनले आफ्नो बयानमा अमेरिकालाई मानव इतिहासमा मानवअधिकारको मुख्य उल्लंघनकर्ता भएको बताएका छन्।

यसैबीच अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले अमेरिका बिना कुनै पूर्वसर्त परमाणु सम्पन्न देश उत्तर कोरियासँग वार्ताका लागि तयार रहेको बताएका छन्। शीतकालीन ओलम्पिकमा दुई विद्रोही कोरियाली देशबीच परस्पर सम्मानको व्यवहार देखिएपछि ह्वाइट हाउसले आफ्नो नीतिमा केही परिवर्तन गरेको छ। पेन्सले उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रममा पूर्ण रोक नलगाएसम्म अमेरिकाले उसमाथि प्रतिबन्ध जारी राख्ने प्रस्ट पारेका छन्।

दक्षिण कोरियाको प्रशंसा
उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियासँग शान्तिको स्थिति बनाइराख्न चाहेको सरकारी एजेन्सीले जनाएको छ।

किम जोङ उनले शान्ति बहालीका सबै प्रयासका लागि दक्षिण कोरियाको प्रशंसा पनि गरेको सरकारी समाचार एजेन्सीले जनाएको छ। किम जोङ उनको उक्त बयान दक्षिण कोरियाबाट फर्केका उत्तर कोरियाली प्रतिनिधिमण्डलले तयार पारेको प्रतिवेदन हेरेपछि आएको हो।

शीतकालीन ओलम्पिकका लागि दक्षिण कोरिया पुग्ने टोलीमा किमकी बहिनी किम यो जोङ पनि सहभागी थिइन्। उनी उत्तर कोरियाकी सबैभन्दा शक्तिशाली महिला हुन्। उनले दक्षिणको प्योङ्चाङमा भइरहेको शीतकालीन ओलम्पिक खेलको उद्घाटन समारोहमा उपस्थिति जनाएकी थिइन्। यद्यपि प्रतिवेदनमा किम जोङ उनले दक्षिण कोरियाका राष्ट्रपति मु जे हयुनलाई वार्ताका लागि उत्तर कोरियाको राजधानी प्योङ्याङ भ्रमणको निमन्त्रणा दिएको उल्लेख गरिएको छैन। ओलम्पिक खेलको शुरू भएको एक दिनपछि नै उत्तर कोरियाली सर्वोच्च नेताले दक्षिण कोरियाका राष्ट्रपति मुनलाई आफ्नो देश आउन निमन्त्रण दिएका थिए। यसैबीच अमेरिकाले उत्तर कोरियासँग नजिकको सम्बन्ध बढाउनेविरुद्ध चेतावनी दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्