बक्स अफिस ७ गतेदेखि नै



चलचित्र विकास बोर्डले आगामी फागुन ७ गतेदेखि लागू हुने गरी बक्स अफिस प्रणाली (ई–टिकेटिङ) शुरु गरेको छ। बोर्डले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष निकिता पौडेलले यही ७ गतेदेखि बक्स अफिस लागू हुने जानकारी गराइन्।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोर्ड अध्यक्ष निकिता पौडेल, बक्स अफिस कार्यन्वयन समिति संयोजक नरेन्द्र महर्जन तथा सदस्यहरु प्रदीपकुमार उदय र आकाश अधिकारी उपस्थित भएका थिए। बक्स अफिस सिस्टम बोर्ड मातहतमा रहनेछ।

यसको सञ्चालन सुबिसु नेटर्वकको सहकार्यमा डाटाहवले गर्नेछ। बक्स अफिस प्रणाली आफ्नै कार्यकालमा सम्पन्न भएकोमा सञ्चारमन्त्री बस्नेतले खुसी व्यक्त गरे। उनले फिल्म क्षेत्रलाई उद्योगको रूपमा स्थापित गर्न चाँडै नै दोलखामा फिल्म सिटी निर्माण कार्य थाल्ने पनि बताए। निकिताले बोर्डमा नियुक्त भएको ३ महिना नबित्दै लामो समयदेखि चलचित्रकर्मीले उठाउँदै आएको बक्स अफिसको मुद्दालाई पूर्णता दिएकी छिन्। उपत्यकाभित्रका मल्टिप्लेक्स सिनेमा हलमा शुरु हुने ई–टिकेटिङ सिस्टम वैशाख १ देखि सम्पूर्ण सिनेमा हल र साउन १ देखि उपत्यका बाहिरका सिनेमा हलमा जडान गरिने पौडेलले बताइन्।

बक्स अफिस कार्यान्वयन समिति संयोजक नरेन्द्र महर्जनका अनुसार बक्स अफिस प्रणालीद्वारा प्राप्त हुने आर्थिक रिपोर्ट सम्बन्धित फिल्मका निर्माता, हल सञ्चालक र वितरकले मात्रै हेर्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्