कमरेडहरूको बठइइँ



चुनावमा जाँदा आजै मिलिहाल्छौं, कसैले चिन्ता मान्नुपदैन, अब हामी पहिलेको जस्तो राजनीति गर्ने मान्छे होइनौं, दिगो शान्ति र विकास मूल नारा हो, यसमै जनताको समृद्धिको सपना साकार हुन्छ भन्ने दलहरूले अझै यही वाक्य दोहोर्याइरहेका छन्। विचराहरूलाई यतिसम्म अप्ठेरो परेको छ कि कहिलेसम्म ढाँटिरहने भनेर, एकदुई दिन भन्दाभन्दै दुई महिना बितिसकेको थाहा पाएपछि फेरि नयाँ शब्द भण्डारको खोजी हुन थालेको छ।

अब हामी कोही एमाले र कोही माओवादी छैनौं भन्दै दुइटा कम्युनिस्ट सीमित स्वार्थका भरमा एकछिन मिलेजस्तो गर्दैमा विश्व चमात्कार गर्छु भन्नेहरू अहिले लाजले ठाडो अनुहार लाएर हिँड्न थालेका छन्।

जे भए पनि शब्दको त्याग गरेकै छन्। उनीहरूको महानतालाई धरहराले सम्मान गरेको छ। पद र स्वार्थ लिए पनि कमसेकम हामी उदार हुन तयार छौं, दुवैजना प्रधानमन्त्री र पार्टी अध्यक्ष भइसकेका छौं, के को लोभ भनेर जनतालाई हँसाए भने मतदाताको मतमाथि घात गरे। आज पनि एकता गर्ने भनेर बजार भाउ निकै बढेको छ तर रातारात मौसमको चिसो हावासँगै बहने स्वदेशी र विदेशी तरंगले दिमाग ठण्डा पार्ने हो कि अन्य कुनै बाटो रोज्ने हुन् भन्न सकिँदैन। सबै तयारी भइसकेको छ, अब घोषणा गर्नमात्र बाँकी छ भन्ने नेताहरूलाई प्रश्न गर्ने ठाउँ जीवितै छ।

पहिले भागवण्डा गरौं, भएभरका पदमा लुछाचुँडी गरौं अनिमात्र पार्टी एकताको अर्को अध्यायमा जाऔं भन्ने उनीहरूको कम चलाखीपूर्ण बठ्याइँलाई धरहराले नबुझेको हो र?

प्रतिक्रिया दिनुहोस्