नेपाली सेनाको मूल दायित्व



समीर बस्नेत

नेपालको संविधानको धारा २६७ ले नेपाली सेना परिचालनसम्बन्धमा विभिन्न व्यवस्था गरेको छ। सोही अनुसार सेनाले राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण तथा सशस्त्र विद्रोह भएमा सतर्कतापूर्वक त्यसको सामना गर्न आफूलाई सदैव तयारी अवस्थामा राखेको कुरा जगजाहेर छ।

संविधानले चरम आर्थिक विशृङ्खलताको कारणले गम्भीर सङ्कट उत्पन्न भएको अवस्थामा पनि सेना सक्रिय रहनुपर्ने स्पष्ट दायित्व दिएको छ। त्यस्तै कानुनबमोजिम विकास निर्माण कार्यमा सेनालाई संलग्न गराउन सकिने व्यवस्था संविधानले नै गरेको हुँदा सोही अनुसार नेपाली सेनाले काठमाडौं–निजगढ द्रुतमार्गलगायत विभिन्न आयोजनामा आफूलाई सक्रिय गराइरहेको छ। यसै गरी विपद् व्यवस्थापनलगायत अन्य कार्यमा समेत सेना सक्रिय रहन सक्ने कुरा संविधानले नै स्पष्ट गरेको छ।

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार विभिन्न तहको निर्वाचनका बेला नेपाली सेनाले आफ्नो तटस्थ भूमिका निर्वाह गरेको देखियो।

संविधानले निर्दिष्ट गरेको भूमिका र सरकारबाट वैधानिकरुपमा प्राप्त हुने कार्यादेशअनुसार नै सेना ब्यारेकबाट निस्कन सक्ने प्रावधान छ भने शान्तिकाल र युद्धकालमा सेनाको भूमिका नितान्त फरक हुने हुँदा सामान्य अवस्थामा सेनाले आफूलाई विकास निर्माणका काममा सक्रिय गराइरहेको देखिएको छ। यसले गर्दा एकातिर सैन्य जनशक्ति निस्क्रिय बस्नु नपर्ने र विकास आयोजनाले देश र जनतालाई ठूलो फाइदा पुग्ने स्पष्ट देखिन्छ। सेनाको कार्य भनेको युद्धका बेलामा युद्ध गर्ने र शान्ति कालमा युद्धको तयारी गर्ने मात्र होइन, सहज अवस्थामा स्थानीय जनतासँग मिलेर विभिन्न जनकल्याणका कामसमेत गर्ने भएकाले सेनाले त्यस्ता कामहरुसमेत गर्दै आएको देखिन्छ।

नेपाली सेनाले भूतपूर्व सैनिक र उनीहरुका परिवारलाई मद्दत गर्न विभिन्न सीपमूलक परियोजनाहरु सञ्चालन गरेको बुझिन्छ। बाटो बनाउनेदेखि लिएर खानेपानी आयोजना, सिलाइ–बुनाइ, विभिन्न सीपमूलक तालिम र शिक्षाका क्षेत्रमा समेत सेनाका गतिविधि केन्द्रित देखिन्छन्। यसले गर्दा आर्थिकरुपले कमजोर सर्वसाधारणदेखि नेपाली सेनामा योगदान गरेर सेवानिवृत्त भएका परिवारहरुसमेत लाभान्वित भएको पाइएको छ।

शान्तिकालीन अवस्थामा कुनै क्षेत्रमा हिंसा भड्किएमा वा स्थानीय प्रशासनको नियन्त्रणभन्दा बाहिरको परिस्थिति सृजना भएमा स्थानीय सुरक्षा समितिको समन्वयमा सरकारको काममा मद्दत गर्न सेना खटिने गरेको छ। २०७२ सालमा कैलालीको टिकापुरमा भएको घटनामा नेपाली सेना परिचालित भई शान्ति सुव्यवस्था कायम गर्न पुर्याएको योगदानको जनताका साथै सञ्चारमाध्यमहरुले समेत प्रशंसा गरेका थिए।

प्राकृतिक विपद्का समयमा भने सेना आफ्ना कमान्डरको आदेशमा तुरुन्तै परिचालन हुने गरेको पाइएको छ। वि.सं. १९९० को भूकम्पका बेला काठमाडौंलगायत देशका विभिन्न भागमा नेपाली सेनाले पुर्याएको योगदानको सम्झना गर्ने वृद्धवृद्धाहरु अझै पनि भेटिन्छन्। त्यस्तै २०७२ सालको विनाशकारी भूकम्पका समयमा स्वतः खटिएको र पछि सरकारबाट समय निर्धारण भएपछि ब्यारेक फर्किएको नेपाली सेनाले पुर्याएको योगदानको स्वदेश तथा विदेशमा ठूलो प्रशंसा भएको हाम्रो स्मृतिमा ताजै छ।

यसै गरी सरकारबाट प्रकृति संरक्षण, विकास निर्माण, विपद् व्यवस्थापनलगायतका विभिन्न कार्यमा खटाइएका बेला सेनाले आफ्नो क्षमताले भ्याएसम्म पूर्ण बफादारीका साथ काम गरेको इतिहास छ। देशका विभिन्न भागमा भएका सडक निर्माणदेखि लिएर अनेकौ भौतिक संरचनाको निर्माणमा सेनाले पुर्याएको योगदान सबैका सामु खुला किताबझैँ स्पष्ट देखिन्छ। यस्तै विश्वशान्ति स्थापनाका लागि विभिन्न द्वन्द्वग्रस्त देशहरु पुगेर ज्यान हत्केलामा राख्दै नेपाली सेनाले गरेको योगदानबारे संयुक्त राष्ट्र संघका अधिकारीहरुले समेत मुक्तकण्ठले प्रशंसा गरेका छन्। यसरी प्रशंसनीय काम गरेबापत नेपाली सेनालाई सम्मानसमेत गरेर राष्ट्रसंघले ऊर्जा थपेको छ भने अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको शिर अरु उठाएको छ।

नेपाली सेनाले कसैलाई पनि जात, धर्म, भूगोल र सम्प्रदायका आधारमा भेदभाव गर्ने गरेको पाइँदैन। सेना स्वभावैले समावेशी छ भने प्राचीनकालदेखि अहिलेसम्म सेनाले सबैलाई समेट्ने प्रयास गर्दै आएको छ। संविधानले नेपाली सेनामा महिला, दलित, आदिवासी, जनजाति, खस–आर्य, मधेसी, थारु, मुस्लिम, पिछडा वर्ग तथा पिछडिएका क्षेत्रका नागरिकको प्रवेश समानता र समावेशी सिद्धान्तको आधारमा सुनिश्चित गरेका कारण सेनाले संविधानको सम्मान गर्दै सोही अनुसार सबैलाई स्थान दिएको पाइन्छ। सेनामा प्रवेश गर्न चाहिने न्यूनतम योग्यता, क्षमता र दक्षता भएको खण्डमा त्यस्ता व्यक्तिहरुले विनाभेदभाव सेनामा प्रवेश गरेर सेवा गर्न पाउने भएकाले नेपाली सेना सबैको हो भन्ने मान्यता स्थापित हुँदै आएको छ।

सैनिक संगठन आमनेपाली जनताकै भएकाले यसमा विभिन्न जातजातिको सहभागिता रहेको सबैले स्पष्ट देख्न सक्छन्। सेना स्वेच्छाले राष्ट्र सेवामा आउन चाहने सबै नेपालीहरुको लागि सदैव खुल्ला संगठन हो, तसर्थ यो नेपालीहरुको साझा शक्ति हो। नेपाली सेनाको इतिहास गौरवले भरिएको छ। राष्ट्रिय सेना भएकाले यसले छिमेकी र सबै मित्रराष्ट्रका सेनासँग अत्यन्तै मैत्रीपूर्ण र उच्च पेसागत सम्बन्ध राख्दै आएको देखिन्छ। अन्तर्राष्ट्रिय मञ्चहरुमा पञ्चशील र तटस्थताको सिद्धान्तलाई अनुशरण गर्दै आएको नेपालको परराष्ट्र नीतिलाई थप टेवा पुर्याउन नेपाली सेनाले सैनिक कुटनीतिमार्फत खेल्दै आएको भूमिकाको सबैले प्रशंसा गर्दै आएका छन्।

सिमानामा हुने गरेका अवाञ्छित गतिविधिहरुको सूक्ष्म अवलोकन गर्दै सूचना र खबर संकलन गर्न नेपाली सेनाले निरन्तर सक्रियता देखाउँदै आएको पाइएको छ। तर संवैधानिकरुपमा सीमा सुरक्षाका लागि अर्धसैनिक प्रकृतिको सशस्त्र प्रहरी बल गठन भई परिचालन हुँदै आएकाले सीमा सुरक्षामा नेपाली सेना प्रत्यक्षरुपमा सहभागी भएको देखिँदैन।
संवैधानिकरुपमा एउटा सुरक्षा निकायलाई प्राप्त भूमिका र जिम्मेवारीलाई इन्कार गर्दै जनताको माग र चाहनाबमोजिम मात्रै सेना आफैं सिमानामा सक्रिय हुन नमिल्ने भएकाले सीमा सुरक्षामा नेपाली सेनाको प्रत्यक्ष भूमिका संवैधानिक र कानुनी दृष्टिले त्रुटिपूर्ण हुने देखिन्छ। सेनाले सीमा मिचिएका घटनामा मौनधारण नगरी सरकारका विभिन्न अंगहरुलाई समेत सूचित गर्ने गरेको यथार्थ बेलाबखत सञ्चारमाध्यमहरुमा आउने गरेको छ।

तर लोकतान्त्रिक परिपाटीभित्रको संविधानको पूर्ण पालना गर्ने संगठनको हैसियतले सेनाले चाहेर पनि सरकारको आदेशविना सिमानामा सक्रिय हुन सक्ने अवस्था देखिँदैन। तर आफूलाई जिम्मेवारी प्राप्त भएको खण्डमा नेपाली सेना देश र देशवासीको सुरक्षाका लागि रगत–पसिना बगाउन सदैव तत्पर रहेको सेनाले आश्वस्त तुल्याउँदै आएको देखिन्छ।

हालै नेपाली सेनाको मुख्यालयमा पूर्वप्रधानसेनापति, पूर्वजनरलहरु र पृतनापतिलगायत वरिष्ठ सैनिक अधिकृतहरुको सम्मेलनमा समेत सेनाले गरेका कामको सिंहावलोकन र आगामी दिनमा सेनाले खेल्नुपर्ने भूमिकाबारे छलफल भएको सञ्चारमाध्यमहरुमा आएको छ। राष्ट्रिय सुरक्षाबारे कैयन् वर्षसम्म गहन अध्ययन र अनुभव गरेका विशिष्ट सैन्य अधिकृतहरुबाट प्राप्त सुझावलाई सेनाले हृदयंगम गर्दै आगामी दिनमा आफूलाई अझ परिष्कृत गर्नुपर्ने खाँचो देखिएको छ। सबैको ध्यान सेनाप्रति केन्द्रित हुन थालेको र राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि सेनाले नै दायित्वबोध गर्नुपर्ने अवस्था आएकाले संविधानले निर्दिष्ट गरेको सीमाभित्र रही आउँदा दिनहरुमा सेना क्रियाशील हुनुपर्ने सुरक्षाविद्हरुको सुझाव छ।

नेपाली सेना राज्यको अन्तिम तथा प्रमुख सुरक्षा शक्ति भएकोले पनि सोही अनुसार आफ्नो भूमिका निर्वाह गर्न सेना सक्षम हुनै पर्ने भएकाले राष्ट्रिय सुरक्षाका विषयमा कसैसँग सम्झौता नगर्ने प्रधानसेनापति राजेन्द्र क्षत्रीको अभिव्यक्तिलाई समयानुकूलको उद्घोष मान्नेहरु धेरै छन्।
खुला सिमानाका कारण संसारका धेरै देशले भोगेझँै नेपालले पनि अनेकौं समस्या भोग्दै आएको छ। लागूऔषध ओसारपसार, मानव तस्करी, हत्या, हिंसा, आतंकवादलगायतका समस्याहरु खुल्ला सिमानाले निम्त्याउन सक्ने साझा समस्या भएकाले त्यस्ता समस्याको निराकरणमा सेनाले अन्य सुरक्षा अंगहरुसँग मिलेर योगदान गरेको पनि स्पष्ट देखिएको छ।

नेपालको पूर्व, पश्चिम र दक्षिणमा खुल्ला सिमाना रहेको भारतसँग सुमधुर सम्बन्ध राख्दै दुवै देशको सुरक्षा अंगहरुसँग समन्वय गरेर सेनाले खेलेको तटस्थ भूमिका सबैका सामु छर्लंग छ। यसै गरी नेपाली भूमि प्रयोग गरेर छिमेकी राष्ट्रहरुविरुद्ध हुने कुनै पनि किसिमका अवाञ्छित गतिविधि रोक्न सेना सक्रिय र सफल रहेको कुरा खम्पा विद्रोहीहरुको निशस्त्रीकरणदेखि आजसम्मका विभिन्न घटनाक्रमहरुले प्रमाणित गरेका छन्।

उग्रवाद, पृथकतावाद र आतङ्कवादले धेरै देशलाई पिरोलेको हुँदा नेपालले पनि त्यस्ता कुराबाट पाठ सिक्नुपर्ने आवश्यकता छ। नेपाली जनतालाई क्षेत्रीय, साम्प्रदायिक, जातीय वा भाषाका आधारमा विभक्त गरेर राष्ट्रलाई कमजोर बनाउने खेल हुन नदिन राजनीतिक नेतृत्वले नै चनाखो हुनुपर्ने देखिएको छ भने राष्ट्रिय सुरक्षाका क्षेत्रमा आउन सक्ने चुनौती, बाधा–व्यवधानको सामना गर्न नेपाली सेनालगायतका सुरक्षा अंगहरुले विशेष निगरानी गर्नुपर्ने खाँचो देखिएको छ।

नेपाली सेनाले इतिहासका विभिन्न परीक्षाहरुमा आफूलाई परीक्षित तुल्याउँदै आएको इतिहास नै प्रमाण छ। तसर्थ जब राष्ट्रलाई संकट पर्छ तब सबैले सेनालाई सम्झिने गरेको पाइन्छ। सुख र दुःखको साथी नेपाली सेना राष्ट्रिय सुरक्षाको सबैभन्दा जिम्मेवार निकाय भएकाले यसका बारेमा नकारात्मक टिप्पणी गरिरहनुभन्दा विगतदेखि अहिलेसम्म गरेका सत्कर्महरुको समीक्षा गर्दै सेनालाई आगामी दिनमा अझ प्रबल र भरपर्दो बनाउन सबै क्षेत्रबाट खुला हृदयले सहयोग हुनुपर्ने आवश्यकता छ भने सेनाले पनि आफ्नो मूल दायित्वमा अटल रहेर अझ प्रभावकारी भूमिका खेल्नुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्