धरानमा मिस नेपालको खोजी



नेपालकै सबैभन्दा पुरानो र प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपालको २३औं संस्करणका लागि शुक्रबार धरानको नवयुग होटलमा अडिसन सम्पन्न गरिएको छ।

५.४ इन्च, प्लस २ पास र १९ देखि २५ वर्ष उमेर पुगेका युवतीले भाग लिन पाउने मिस नेपालको धरान अडिसनमा ४ जना सहभागी थिए। नेपालगन्ज, वीरगन्ज, पोखरा, बुटवल र धनगढीमा समेत अडिसन गरिसकिएको मिस नेपालको बिर्तामोड अडिसन आगामी फागुन १ गते हुनेछ भने फागुन ५ गते काठमाडौंमा अन्तिम अडिसन हुनेछ।

धरान अडिसनमा अनुपमा बास्तोला, सन्ध्या भेटवाल, सुम्निमा खापुंग र अनु ढुंगाना सहभागी भएकोमा अनु ढुंगाना मिस पूर्वाञ्चल २०१७ कि सेकेन्ड रनरअप भएकाले सीधै इन्ट्री दिइएको छ भने अन्यलाई काठमाडौं अडिसन सम्पन्न गरेपछि प्रस्तुति तथा प्रतिभाको आधारमा अन्तिम २५ जनाका लागि सहभागी गराइने आयोजक हिडेन ट्रेजरको निर्देशक अजय स्थापितले बताए।
आगामी चैत २८ गते काठमाडांैमा भव्यरूपमा मिस नेपालको फिनाले आयोजना हुने मिस नेपालको धरान अडिसनमा हिडन ट्रेजरका निर्देशक अजय स्थापित, मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ र सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठ निर्णायक रहेका थिए।

त्यस्तै अडिसनअघि मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ र मिस पूर्वाञ्चल २०१६ फस्ट रनर्सअप इक्सा मादेन धरानको यूएन कलेज र केन्द्रीय प्रविधि क्याम्पसमा कलेज क्याम्पिनमा सहभागी भएका थिए। कलेजका विद्यार्थीलाई मिस नेपालका बारेमा जानकारी दिँदै विभिन्न मनोरञ्जनात्मक प्रतियोगिता र सेल्फी प्रतियोगिता सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्