बस्नेत म्याराथनमा पहिलो



नेपाल समाचारपत्र
काठमाडौं
महाशिवरात्री तथा सेना दिवस २०७४ को अवसरमा आयोजित प्रधानसेनापति खुल्ला म्याराथन दौडमा नेपाली सेनाका अमल्दार कृष्ण बस्नेत पहिलो भएका छन्।

बस्नेतले २ घण्टा २२ मिनेट ५२ सेकेण्डमा दौड पूरा गरेर पहिलो स्थान हासिल गरेका हुन्। सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की २ घण्टा २५ मिनेट ३७ सेकेन्ड समय लिँदै दोस्रो स्थानमा रहे। त्यस्तै सेनाका अमल्दार राजन खत्रीले २ घण्टा २९ मिनेट १२ सेकेन्डसहित तेस्रो स्थान प्राप्त गरे।

प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले पहिलो भएका बस्नेतलाई रु. १ लाखको चेकसहित बजाज कम्पनीको १ सय ६० सीसीको पल्सर मोटरसाइकलको साँचो पनि प्रदान गर्नुभयो। दौडमा दोस्रो भएका पार्कीले ५० हजार र तेस्रो हुने खत्रीले २५ हजार नगद प्राप्त गरे। त्यस्तै चौथोदेखि छैठो स्थानमा रहेका धावकले क्रमशः १५ हजार, ७ हजार र ५ हजार नगद हासिल गरेका थिए।

हाफ म्याराथनतर्फ महिला विधामा सेनाकी प्यूठ विश्वरूपा बुढा पहिलो भइन्। उनले २५ हजार नगद प्राप्त गरेकी हुन्। पहिलो भएको बापत उनलाई सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती रीता क्षत्रीले स्कुटरको साँचो हस्तान्तरण गर्नुभएको थियो। सोही विधामा सेनाकी प्यूठ रेशु बस्नेत दोस्रो हुँदै १५ हजार र शसस्त्र प्रहरी बलकी विन्द्रा धनके श्रेष्ठ तेस्रो भएर १० हजार रुपियँँ प्राप्त गरे।

प्रतियोगिताको छात्रतर्फ ५ किमि दौडमा सैनिक आवासीय महाविद्यालय, सल्लाघारीका सुरेश थापा मगर र ईश्वर बस्नेत क्रमशः पहिलो र दोस्रो भएका थिए। सम्झना एकेडेमीका कृष्ण तामाङ तेस्रो स्थानमा रहे। त्यसै गरी, छात्रातर्फ मेगा नेसनल कलेजका काजल विष्ट पहिलो, विजेश्वरी ज्ञान मन्दिरका सुनिता श्रेष्ठ दोस्रो र विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका स्वेच्छा बलामी तेस्रो भए।

प्रतिक्रिया दिनुहोस्