स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त कर्णालीका कृषक



कालीबहादुर मल्ल, कालिकोट

कर्णालीका कालिकोट, हुम्ला, जुम्ला र मुगुका किसान स्याउ बगैंचा र बिरुवा छाँटकाँट गर्न व्यस्त बनेका छन्। स्याउको बिरुवामा छाँटकाँट र मल तथा पानी दिन व्यस्त भएका हुन्।
स्याउका बिरुवाका लागि माघदेखि फागुनसम्म बिरुवा लगाउने र ठूलो बिरुवा काँटछाँट गर्ने गरिन्छ।

यो समयमा बिरुवाको राम्रो स्याहार गरे उत्पादन राम्रो हुने भएकाले यहाँका अधिकांश किसान स्याउको बगैंचा हेरचाहमा व्यस्त रहेका कृषि विकास कार्यालय कालिकोटका वागवानी अधिकृत भक्तिराम शर्माले बताउनुभयो। ‘पछिल्ला वर्षमा कर्णालीका किसान स्याउ खेती गर्ने संख्या बढ्दै गएका छन्’, उहाँले भन्नुभयो– ‘हिउँदको समयमा बिरुवालाई मल र पानी दिएर उत्पादन बढाउन सकिन्छ।’
राष्ट्रिय सडक सञ्जालले कर्णालीलाई छोएपछि यहाँका मानिसको आर्थिक आम्दानीको स्रोत स्याउ भएको अहिले किसानहरू ध्यान स्याउमा बढी जाने गरेको अधिकृत शर्माले बताउनुभयो। ‘कर्णालीको आर्थिक आधार भनेको स्याउ हो’, उहाँले भन्नुभयो– ‘किसानको पहिलो रोजाइ अहिले स्याउ बनेको छ।’

जुम्लाका १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरीले स्याउ खेती गर्ने गरेको र स्याउ उत्पादनमा समेत वृद्धि हुँदै आएका कारणले अहिले स्याउ किसान स्याउको बिरुवाका काँटछाँटमा व्यस्त रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी बालकराम देवकोटाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘अहिले किसानहरू स्याउ बगैंचा व्यवस्थापनमा लागेका छन्।’

कर्णालीबाट वार्षिक १ अर्ब बराबरको स्याउ उत्पादन हुने गरेको अनुमान कृषि विकास कार्यालयले गर्ने गरेको छ। कृषि विकास कार्यालय जम्लाले हाड सिञ्जा, नराकोट, तातोपानी र डिल्लीचौर कृषि सेवा केन्द्र तथा गज्र्याङकोट, देपालगाउँ र चन्दननाथ नगरपालिकामा व्यवस्थापन सप्ताह सञ्चालन आजैदेखि सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्