संकेत राम्रो !



नेता र गाडी एकले अर्कोलाई चिनाउने पर्यायावाची शब्द झैं बनेका छन्।
अर्थात् गाडी मोह मुलुकका नेताहरूको पुरानै ‘कल्चर’ हो। राज्यको सुविधाबाट होस या अन्य स्रोतबाट गाडी चाहिँ नेताले चढ्नैपर्ने। गाडी नभएका नेता त के नेता।

कुनै नेताले गाडी मोह त्याग्छ र आदर्शको कुरा गर्छ भने ऊ ‘फ्लप नेता’ को सूचीमा पर्ने सम्भावना उच्च रहन्छ। त्यही कारणले अहिले केन्द्रीय स्तरका नेता मात्रै होइन, क्षेत्रीय र स्थानीय स्तरका नेतामा समेत गाडी मोह बढेको छ।

नगरपालिका मात्रै होइन, धेरै गाउँपालिका गाडी खरिद गर्न जुटेका छन्। ‘फ्लप’ को सूचीमा पर्नु पनि त भएन।

त्यही भएर हो क्यार धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उप–मेयर मीनाकुमारी यादवले गाडीकै विषयलाई लिएर नगर बैठकको माइन्युट नै च्यातेकी छिन्। बैठकको प्रस्तावमा आफूलाई गाडी सुविधा दिने विषय उल्लेख नगरेको भन्दै उनले माइन्युट च्यातेको धरहराले बुझ्यो। जिल्ला धेरै नगरका उप–मेयरले गाडी सुविधा पाएको तर पनि आफूलाई भने कार्यकारी अधिकृतले वेवास्ता गरेको यादवको तर्क छ।

नगर क्षेत्रको अनुगमन गर्न स्कुटीमा निस्किँदा गाह्रो भयो रे म्याडमलाई। कार्यकारीले बाल हान्दै गरुन् म्याडम, यस्तो लक्षण त राष्ट्रिय नेता बन्ने संकेत हो।

विगतमा सडकमा ढुंगा हान्ने, गाडी फोड्ने, संसद्मा माइक तोड्ने, कुर्ची भाँच्ने र हानाहान गर्नेहरू नै त अहिलेका चल्तीका नेता हुन् नि!

प्रतिक्रिया दिनुहोस्