डाक्टरलाई एक सजेसन



कमल ढकाल
उमेर अंक हो कि उमेर उमेर मात्र हो? प्रश्न गम्भीर छ। उत्तर पनि गम्भीर बन्छ। कर्मयोगीको उमेर अंक जस्तै हुन्छ। सत्य मोहन जोशी र माधव घिमिरे सय वर्षमा हिँड्दै हुनुहुन्छ। उहाँहरूका लागि उमेर अंक बराबर हो। ४१ वर्षकै उमेरमा संसार तहल्का पिट्ने मदन भन्डारीको हत्या भयो र पनि आजसम्म बाँचिरहेका छन्। कोही कतै सय वर्ष पुगेका उहाँभन्दा जेठा मान्छेको नाम पनि कसैले सुनेको हुँदैन।

समयअनुसार फेरिन्छ मान्छे। १० देखि १५ वर्षलाई एक युग मान्ने हो भने प्रत्येक मान्छे १० देखि १५ वर्षमा परिवर्तन हुन्छ। १० को बच्चा २० मा युवा हुँदै ३० मा बिहेबारी र ४०, ५० र ६० हुँदै प्रत्येक १० वा २० वर्षमा पूरै फेरिन्छ। आफ्नो उमेरको आयतनअनुसार जीवनको उचाई लिएको छ वा छैन मुख्य कुरा त्यही हो।

राजधानीको बिजुली बजारको धोवीखोला पुलनजिकै रहेको निःसन्तान केन्द्रकी संस्थापक डाक्टर उमा श्रीवास्तवलाई पनि उमेरले अधवैंसे बनाएको छ। यस उमेरमा उमाले भने जिउको आयतन मात्र बढाएकी छैनन् आफ्नो नामलाई पनि फरक ढंगमा लैजाँदै छिन्। सँगै पढेका सहपाठी को–को कहा–कहाँ होलान् उमा भने आफ्नो नामको अगाडि जोडिएको डाक्टरलाई आफ्नै दिलसँग जोड्दै रोगीसँग भावनात्मक सम्बन्धका आधारमा अगाडि बढिरहेकी छिन्।

एक महिला भएको नाताले आफ्नै वर्गको हितका लागि महिला स्वास्थ्य र प्रजनन्बाट काम शुरू गरेकी उमा आज नेपालमा प्रजनन् हर्मन विशेषज्ञको रूपमा परिचित छन्। निःसन्तानलाई सन्तान दिन लागिपरेकी उनको संस्था नेपालमै पहिलो टेस्ट ट्युब बेबी उत्पादन गर्ने संस्था रहेछ। अहिलेसम्म आफ्नो संस्थाबाट ४ हजारभन्दा बढी निःसन्तानले सन्तान उत्पादन गरेका रहेछन्।

डाक्टरहरूले पाउने पुरस्कार श्री ५ दीपेन्द्र युवा वैज्ञानिक पुरस्कार २०५५ मा पाएकी उमाले चिकित्सक पेसाबाट नाम दाम र इनाम बटुलेकी छन्। बानेश्वरको सामान्य परिवारमा हुर्किएकी उमाले १९८४ सोभियत संघ युक्रेनबाट एमबीबीएस गरेकी हुन्। ३ वर्ष टिचिङमा महिला स्वास्थ्यमा चिकित्सक पेसा गरेकी उमाले ब्रिटिस काउन्सिल छात्रवृत्तिमा लन्डन युनिभर्सिटीबाट प्रजनन् हर्मन विशेषज्ञका रूपमा आफ्नो नामलाई परिवर्तन गरिन्।
पहिले ३ जना मिलेर खोलिएको रिप्रोडक्टरी हेल्थमा साथीहरू विदेश जाने वा आ–आफ्नो काम गर्न थालेपछि उनी एक्ली भइन्। कहिल्यै विदेश बस्ने मन नभएकै कारण उमाले संस्थालाई एक्लै चलाइन्। ३ कोठाबाट शुरू भएको उनको संस्था आज हजारौंको आस्थाको केन्द्र बनेको छ। अहिले उनको निःसन्तान केन्द्रमा जँचाउन आउने नेपाली मात्र नभएर अमेरिकन भेटनरी डाक्टर, फिलिपिनोलगायतका छन्।

मान्छेले समय क्रमको घोटाइबाट आफ्नो जीवन जिउने धारणा बनाउँछ। उमालाई पनि शहरका नामुद धनाढ्य हुन वा बैंकहरू अस्पताल बनाउन प¥यो भनेर आउँदारहेछन्। पैसाभन्दा पनि खुसी महत्त्वपूर्ण हुने कुरा बुझेकी उमा गरिबलाई उपचार गरेर तीनको खुसी हेर्न पाउँदा औधी रमाएकी रहिछन्। डाक्टरले आफ्ना बिमारीलाई क्लाइन्ट भनाउन ठूला अस्पताल नखोल्ने उनको धारणा अहिलेसम्म यथावत् रहेछ।

कुराकानीका क्रममा आफूलाई लागेको जिज्ञासा सोधें– ‘एउटा डाक्टरले सधैं पीडासँग खेल्नुपर्छ तैपनि किन उ हँसिलो सुखिलो देखिन्छ ?’ जवाफ आयो– ‘डाक्टरले बिमारीको पीडा कम गर्न गरेको उपचारले ल्याएको खुसी देख्न सक्नुपर्छ त्यसले नै उसलाई खुसी बनाउँछ डाक्टर बिमारीको सोसियलदेखि शारीरिक पीडा बुझ्ने भएन भने डक्टर बन्न सक्दैन।’
डाक्टर सधैं हतारमा हुन्छ। उसलाई परिवारभन्दा पनि बिरामीको बढी याद आउँछ। संवेदनशील काम भएकाले यसमा प्रेस्टिज र रिस्क दुवै छ। १५ घन्टा काम गर्दा पनि उसले थाकें भन्न पाउँदैन। हप्ताको सात दिन दशैंतिहार जतिबेला पनि स्टयान्डबाइ हुनुपर्ने। गज्जबको पेसा छ यो। आफू बिरामी भए पनि अरूको उपचार गर्नुपर्ने। बिरामी भएर बस्न नपाइने।

डाक्टरको लागि रिग्रेट भनेकै फेमेलीसँग टाइम दिन नपाउनु हो। जुन उमामा पनि छ। छोरा त्रिलोक आमाकै पदचापमा छन्। छोरी तृप्ती अमेरिकामा छिन्। छोरीले उमालाई तेस्रो पुस्तामा उकालिसकिन्। पति इन्जिनियर छन्। डाक्टरी पेसाको लागि छोरी रुवाउँदै लन्डन जानु परेको घटना उमासँग छ। महिलासँग दयालु मन हुन्छ। त्यसविपरीत बच्चाको लागि कठोर बन्न परेका घटनाले कहिलेकाहीं डाक्टर भएकोमा रिग्रेट हुन्छ।
आजकाल डाक्टर निकै सस्तो हुँदैछ। ३०⁄४० लाखको इँटाजस्तै भइसक्यो। पैसा भएर डाक्टर बन्ने हैन। इच्छा भएर मात्र बन्ने हो। यो कुरा सरकारले बुझ्नैपर्ने भएको छ। एमबीबीएस सक्नेबित्तिकै पैसाको लागि कुद्ने चलन बढ्दो छ। त्यस्ता डाक्टरलाई उमाको सल्लाह छ। एमबीबीएसपछि एमएस र त्यसपछि स्पसल गर्नुपर्छ। २० वर्ष लाग्छ एउटा राम्रो डाक्टर बन्न। पैसाको पछि लागेर डाक्टर व्यापारी बन्ने हैन पैसालाई पछि लगाउने काम हो डाक्टरको। डाक्टर बन्नेलाई सजेसन हो यो उमाको।

डाक्टर भएपछि सक्सेसफुल हुनु जरुरी छ। थ्योरी भएर मात्र हँुदैन। प्राक्टिकल हुनु जरुरी छ। बिरामीले डाक्टरलाई नलेज दिन्छ। त्यसैले ऊसँग झर्कने तर्कने हैन मायाले काम गर्नुपर्छ। बिरामीलाई परिवारझैं सम्झनुपर्छ। सिन्सयरिटी हुनुपर्छ। डेडिकेसन रअप टु डेट हुनुपर्छ। ट्रेनिङ सेमिनारमा जानुपर्छ। नयाँ टेक्नोलोजिसँग जानकार हुनुपर्छ। तब मात्र एक राम्रो डाक्टरको जन्म हुन्छ।

मान्छेले मन्दिरजस्तो मान्छ डाक्टर वा ऊ बस्ने ठाउँ। मान्छे आउने–जाने गर्छन्। एकदमै ठूलो आस्था लिएर। त्यो आस्था टिकाइराख्नु डाक्टरको कर्तव्य हो। डाक्टरका लागि चुनौती पनि त्यही हो। यो डाक्टरले रोग च्वाट्टै पार्छ यही सोचेर मान्छे आउँछन् मेडिकल हो निको हुन पनि सक्छ नहुन पनि भनेर कोही भन्दैन। यस्तो प्रतिकूल कुरालाई अनुकूल बनाएर व्यवहार गर्नुपर्छ डाक्टरले।

प्रतिक्रिया दिनुहोस्