पौडेलको जेल जीवन



ज्ञानमणि नेपाल कालोटोपी
काभे्र जिल्लाका सहकारी अभियन्ता दीपकप्रसाद पौडेलले आफ्नो दोस्रो पुस्तक बजारमा ल्याएका छन्। पहिलो सहकारीसम्बन्धी खोज र अनुसन्धानमूलक पुस्तक प्रकाशन गरेका पौडेलले यसपटक अलि फरक प्रकारको पुस्तक पाठकसामु पस्किएका हुन्। सबै पुस्तकहरु साहित्य विधाका मात्र हुँदैनन्। कथा, कविता, निबन्ध र उपन्यास इतरका पनि पुस्तक हुन्छन्। लेखकहरुले तिनीहरुलाई विभिन्न तरिकाले प्रस्तुत गर्छन्। कुनै संस्मरण हुन्छन्, कुनै अनुभव, अनुभूति र दैनिकी पनि हुन्छन्। पौडेलको यो पुस्तक संस्मरण हो।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय बिताएका पौडेलले नेपालको लोकतन्त्र र स्वतन्त्रताका लागि पनि समय खर्चिएका छन्। समाजमा विद्यमान अन्याय, अत्याचार र विभेदप्रति भित्रैदेखि विद्रोहमा उत्रने पौडेल सानै उमेरमा प्रजातान्त्रिक आन्दोलनप्रति समर्पित थिए। यसै क्रममा वि.सं. २०६० देखि ०६३ सम्म नेपालमा भएको राजनीतिक अस्थिरता र आन्दोलनमा उनको पनि उत्साहजनक सहभागिता रहेको थियो। प्रस्तुत पुस्तकमा उनले त्यस बेला आफूले भोगेका विभिन्न घटनालाई सिलसिलाबद्धरुपमा उतारेका छन्।

यसै क्रममा तत्कालीन राजा ज्ञानेन्द्रले जनतामाथि जबरजस्ती लादेका निरंकुशताका विरुद्ध लेखक पनि आन्दोलनमा थिए। आन्दोलनकै क्रममा तत्कालीन सरकारले उनलाई पक्राउ गरी खरिपाटी जेलमा ४३ दिनसम्म कठोर तरिकाले थुनेर राख्यो। जति बेला देशमा तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुशताविरुद्ध देशभरिबाट नागरिकहरुले विद्रोह गरिरहेका थिए। ०६१ फागुन ७ गतेदेखि चैत २० गतेसम्म उनीलगायत सयौं प्रजातान्त्रिक योद्धाहरु बन्दी जीवन बिताइरहेको अवस्थालाई लेखक पौडेलले यस पुस्तकमा जस्ताको त्यस्तै पारेर उतारेका छन्।

पुस्तक पढिरहँदा त्यति बेलाको झल्को पुनः मानसपटलमा फर्केर आउँछ। प्रत्येक दिनमा के भयो, कसले के भने, आन्दोलन किन गरियो, त्यसपछि के भयो भन्ने खालका चरणबद्ध घटनाक्रमहरुले उनको पुस्तकमा प्रवेश पाएका छन्। ऐतिहासिक दस्ताबेजकै रुपमा लिन सकिने यस पुस्तकलाई शोधपत्र लेख्दै गरेकाहरुले राम्ररी अध्ययन गर्ने हो भने पक्कै उनीहरुले सफलता पाउनेछन्। त्यति मात्र नभएर जोसुकै पाठकले पनि यसबाट नौलोपना मात्रै पाउँदैनन्, तत्कालीन जनआन्दोलनको पृष्ठभूमि पनि प्रस्टै देख्नेछन्।

पौडेल व्यावसायिक लेखक त होइनन् तर उनले जुन लेखाइ प्रस्तुत गरेका छन् त्यसले उनको लेखकीय कलालाई पनि निकै रोचक तरिकाले प्रस्ट्याएको छ। कृषि, सहकारी, दुग्ध उत्पादनलगायतका क्षेत्रमा आफ्नो अधिकांश जीवन समर्पण गरेका पौडेलको यस पुस्तकलाई बौद्धनाथ प्रिन्टर्स, नयाँ बानेश्वरले बजारमा ल्याएको हो। संग्रहणीय यस पुस्तकको मूल्य ५ सय रुपियाँ राखिएको छ।

प्रतिक्रिया दिनुहोस्