टेनिसमा नेपालको चुनौती समाप्त



नेपाल समाचारपत्र
काठमाडौं
बुधबारको खेलमा हार बेहोरेपछि नेपाली खेलाडीको चुनौती जारी नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–१ मा समाप्त भएको छ।

सातदोबाटोको टेनिस कोर्टमा भएको पुरुष सिंगल्सको अन्तिम १६ खेलमा प्रणव खनाल सहजै पराजित भएर बाहिरिएका हुन्। उनलाई भारतका जैशविन सिडानाले ६–३, ६–० ले हराएका थिए। प्रणव प्रतियोगिताको प्रिक्वाटरफाइनल पुग्ने एक मात्र पुरुष खेलाडी हुन्। त्यस्तै महिला सिंगल्स अन्तिम १६ को खेलमा माहिका राणा पनि प्रतिद्वन्द्वी यिमिङ दाङसँग हार्न विवश भइन्। उनी सजिलोसँगै चिनीयाँ खेलाडीसँग ६–०, ६–२ ले पराजित भएकी थिइन्। यसै गरी इरा रावत पनि निराश भइन्। उनी हङकङकी चुई केइ लिउङसँग ६–३, ६–० ले हारेकी थिइन्।

यस्तै भारतकी श्रीनिधि श्रीधरसँग एनी माथेमाले कडा प्रतिस्पर्धा गरेकी थिइन्। पहिलो सेटमा ७–६ ले गुमाउनु नै उनको हारको कारण बनेको थियो। दोस्रो सेटमा उनी भारतीय खेलाडीलाई ६–३ ले नतिजा सुम्पेर अन्तिम १६ बाट बाहिरिएकी थिइन्।

यसै गरी महिला डबल्स क्वाटरफाइनलमा पनि राणा दिदीबहिनी मायांका र माहिकाको हार भयो। उनीहरूलाई भारतका अस्प्रित कौर वाज्वा र पुन्यातोया मोहापात्रको जोडीले ६–३, ६–३ ले पन्छाएको थियो। यस्तै नेपालकी प्रेरणा कोइरालाले अमेरिकाकी रुतुजासँग मिलेर खेले पनि हार बेहोरिन्। उनको जोडीलाई हङकङकी लिउङ र भारतकी सान्या सिंहको जोडीले ६–३, ६–२ ले निरास पारेको थियो। अर्को खेलमा भारतका स्मृति र रुदया शाहको जोडीले नेपालकी प्रकृति श्रेष्ठ र भारतकी श्रीनिधिको जोडीलाई ६–४, ६–३ ले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्