‘माटोसँग खेल्दा आनन्द आउँछ’



प्रताप बानियाँ, म्याग्दी । जीवनमा सरकारी जागिर र विदेश यात्राको अनुभव नभएका मानिस कमै हुन्छन् । कृषिप्रधान देश नेपालमा कृषि पेशामा अधिकांश मानिसहरु लागेकै छन् ।

कृषि पेशालाई व्यावसायिकरण गर्ने आधुनिक कृषि औजार र सामाग्री पर्याप्त छैन, त्यसमा पनि सिचाईं कुलो र दक्ष जनशक्तिको पनि अभाव छ । तैपनि कतिपय कृषकहरु कृषि पेशालाई मुख्य पेशा बनाएरै लागिपरेका छन् ।

पछिल्लो समय कृषि पेशामा निकै व्यस्त हुनुहुन्छ, म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबराका कृषक चन्द्रबहादुर कार्की । आफ्नो भएको जिमीजग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गर्नुभएका उहाँलाई अहिले तरकारी खेतीको स्याहारसुसार गर्न भ्याइनभ्याई छ ।

बिहानदेखि बेलुकासम्म बारीको पाटोमा लगाएको तरकारी र फलफुल खेतीमा उहाँ खेलिरहनुहुन्छ । सानैदेखि कृषिमा सक्रिय पछिल्लो समय व्यावसायिक कृषक बनेका कार्की तरकारी बारीमा लुकामारी नखेल्न त झन् कुरै भएन ।

पढ्दापढ्दै १८ वर्षको उमेरबाटै कृषि पेशामा लाग्नुभएका कार्कीले अहिले १९ रोपनी जग्गामा व्यावसायिक तरकारी, केरा, फलफुल र माछापालन गर्नुभएको छ । १६ रोपनी क्षेत्रफलको जग्गामा मात्रै उहाँले आलु, मुला, गाजर, काउली, बन्दा, ब्रोकाउली, रायोसाग, प्याज, लसुन, खुर्सानी, टमाटर, धनियाँ, चम्सुर लगायतका तरकारीहरु लगाउनुभएको छ ।

सुरुमा उहाँले २०३४ सालबाट तरकारी खेती सुरु गरेपनि पछाडि आएर व्यावसायिक रुप दिनुभएको थियो । तरकारी खेतीसँगै ३ रोपनीमा उहाँले व्यावसायिक केरा खेती गर्नुभएको छ । उहाँको केरा बारीमा अहिले मुरे, धुर्से, हजारीया र नङ्ग्रे जातको केरा पाक्दै आएका छन् । उहाँ गाउँमै पहिलो केरा खेती गर्ने कृषकका रुपमा समेत चिनिनुहुन्छ ।

व्यावसायिक तरकारी खेतीमा होमिनुभएका कृषक कार्कीले जिल्ला कृषि विकास कार्यालयबाट तरकारी खेतीलाई चाहिने पक्की टनेल र प्राविधिक सहयोग पाउनुभएको छ । त्यस्तै जिल्ला भू–संरक्षण कार्यालयबाट पोखरी निर्माणका लागि पनि सहयोग पाउनुभएको छ ।

५८ वर्षे उमेर पार गर्दै गरेका कृषक कार्कीले व्यावसायिक कृषि खेतीमा लागेर दिनहुँ माटोसँग खेल्दा आनन्द आउने अनुभव सुनाउनुभयो । आफूसँगै पढेका कतिपय साथीहरु विदेश र सरकारी जागिरतर्फ लागे पनि उहाँ ‘विदेश पनि नजाने र सरकारी जागिर पनि नखाने’ भनेर कृषि क्षेत्रमा लागेको बताउनुभयो ।

व्यावसायिक तरकारी खेती गर्नुभएका कृषक कार्कीले वर्षमा आठलाख रुपैयाँ आम्दानी गर्ने गरेको बताउनुभयो । १६ रोपनी जग्गामा लगाएको मौसमी तथा बेमौसमी तरकारी बेचेर दैनिक सरदरमा तीन हजार रुपैयाँ कमाई हुने गरेको उहाँले बताउनुभयो ।

उहाँको तरकारी बारीमा प्याजका बेर्नादेखि टनेलमा गोलभेंडा खेती रहेको छ भने बन्दा, काउली, ब्रोकाउली लगायतका तरकारी उत्पादन हुँदै आएको छ । खबरामा उत्पादित तरकारी म्याग्दी सदरमुकाम बेनीबजार, पर्वत बेनी र बागलुङ बजारमा बिक्री गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

व्यावसायिक तरकारी खेतीसँगै उहाँले फलफुल खेती पनि गर्नुभएको छ । फलफुलतर्फ केरा, सुन्तला, अम्बा (बेलाउती), कागती, भुइँकटर जातका फलफुलहरु रहेका छन् । फलफुल बिक्री गरेर दुईलाख रुपैयाँ आउने गरेको कृषक कार्कीको भनाई छ । कृषिसँगै पशुपालन गर्नुभएका उहाँले दुध बिक्री गरेर एकलाख रुपैयाँ कमाउने गर्नुभएको छ । उहाँले बेनीमा दैनिक रुपमा दुध बेच्दै आउनुभएको छ ।

तरकारी, फलफुल र पशुपालन गर्दै आउनुभएका कृषक कार्कीले २ ओटा माछा पोखरी बनाउनुभएको छ । उहाँको पोखरीमा अहिले ग्रासकार्प, कमनकार्प, माहुर जातका २ हजार भुराहरु रहेका छन् । माछापालनबाट पनि पर्याप्त आम्दानी गर्न सकिने हुँदा उहाँले पोखरी निर्माण गरी माछा पाल्न सुरु गर्नुभएको हो ।

जिल्लाकै अगुवा कृषकको परिचय बनाएका कार्कीले आगामी दिनमा कृषि क्षेत्रलाई निरन्तरता दिने र सामाजिक क्षेत्रमा लगानी गर्ने योजना बुनेको सुनाउनुभयो । व्यावसायिक कृषिलाई जोड दिने हो भने सजिलै आर्थिक क्रान्ति हुने र देशमा परिवर्तन आउने उहाँको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्