डेरा नपाएर सांसदको बिचल्ली



सुर्खेत । पहिलो पटक सुर्खेत झर्नुभएका मुगुबाट निर्वाचित नेपाली काँग्रेसका सांसद झोवा विकले अहिलेसम्म पनि डेरा पाउनुभएकोे छैन ।

यहाँ आइपुग्दा स्थान र सांसद दुवैको नौलो अनुभूति लागेको उहाँलाई यहाँको भूगोल र सामाजिक वातावरण नयाँ संसारजस्तो लागिरहेको छ ।

गाउँले परिवेशबाट संसद् भवनमा छिर्दा गर्वको अनुभूति भएको प्रतिक्रिया सांसद विकले दिनुभयो ।

‘सांसदमा निर्वाचित भएपछि मात्र म माघ ६ गते पहिलो पटक सुर्खेत झरें अहिले लोकप्रिय होटेलमा बसेकी छु । यहाँको बारेमा मलाई केही थाहा छैन । चिनेका साथीभाइलाई एउटा फ्ल्याट खोजिदिन भनेकी छु, पाइएको छैन ।’ उहाँले भन्नुभयो, ‘साथीभाइको सहयोगमा बल्लतल्ल पाइएको तीन कोठाको भाडा रु २० हजार भनेपछि लिन गाह्रो भयो ।’

बढी पैसा तिरेर सुर्खेतमा झर्नुपर्दाको पीडा त छँदैछ, त्यसमा झन भाडामा बस्दा ढाड सेकिन्छ, जनप्रतिनिधि भइसकेपछि जनताका थुप्रै आशा छन् तर आशा पूरा गर्न बसाइँ व्यवस्थापन गर्न सकिएको छैन, अहिलेसम्म आफूसँग आउने पार्टी कार्यकर्ता र शुभचिन्तकलाई होटेलमा नै राख्दै आएको उहाँले गुनासो गर्नुभयो ।

त्यस्तै जाजरकोट प्रदेश (ख) बाट निर्वाचित नेकपा (एमाले)का सांसद करवीर शाही प्रदेशसभा भवन नजिको बस्ती इत्राम क्षेत्रमा कोठा भाडा खोज्न जानुभयो ।

त्यहाँ सबै घर भाडामा बस्ने मान्छेले भरिभराउ थिए । उहाँका लागि एकाध घरमा कोठा पाइए तर भाडा सोध्दा सोचेको भन्दा दोब्बर थियो । रु १० हजारसम्म अनुमान गरेको कोठाका लागि रु १८ देखि २६ हजार भाडा भनेको सुन्दा उहाँ केही नभनेर लुसुक्क फर्कनुभयो ।

– रासस

प्रतिक्रिया दिनुहोस्