टेलिकमको आम्दानी साढे ४४ अर्ब



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल टेलिकमले आफ्नो स्थापनाको १४औं वार्षिकोत्सवका अवसरमा ‘नमस्ते क्रेडिट’ सेवा शुरू गरेको छ। सोमबार सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ‘नमस्ते क्रेडिट’ सेवाको औपचारिक शुरूवात गर्नुभएको हो। अब कम्पनीको जीएसएम प्रिपेड ग्राहकहरूको ब्यालेन्स न्यून भएको अवस्थामा कल गर्दा ब्यालेन्स शून्य भई कल काटिने अवस्थामा क्रेडिटबाट अविच्छिन्न रूपमा सेवा प्रयोग गर्न सकिने छ। त्यसैगरी ब्यालेन्स शून्य अवस्थामा पनि क्रेडिटबाट सेवा प्राप्त गर्न सकिने छ। सो क्रेडिट रकम त्यसपछिको पहिलो रिचार्ज रकमबाट काटिने छ भने क्रेडिट रकममा ग्राहकलाई अतिरिक्त शुल्क लाग्ने छैन। हाल सफ्ट लन्च मात्र गरिएको र निकट भविष्यमा यो सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकम देशकै पुरानो र ऐतिहासिक कम्पनी भएकाले देशका विभिन्न स्थानमा शिक्षा र स्वास्थ्य जस्ता नेपाली जनताको सरोकारका क्षेत्रमा सहयोग गर्दै अगाडि बढिरहेको बताउनुभयो। उहाँले नेपाल टेलिकम सेवामूलक र नाफामुलक दुवै ढंगबाट अगाडि बढ्नुपर्ने बाध्यता भए पनि कम्पनीले ग्राहक गुनासो नआउने गरी गुणात्मक सेवामा ध्यान दिनुपर्ने बताउनुभयो।

सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले नेपालकै पहिलो दूरसञ्चार सेवाप्रदायक संस्थाको रूपमा परिचित नेपाल टेलिकमले अन्य देशमा भन्दा सस्तो दरमा सेवा प्रदान गर्न सक्षम भएकोमा खुशी व्यक्त गर्दै कम्पनीमा कार्यरत दक्ष जनशक्तिका कारण नै यो सम्भव भएको बताउनुभयो।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका निमित्त सचिव प्रेमकुमार श्रेष्ठले कम्पनीमा रूपान्तरण भएपश्चात नेपाल टेलिकम थप जिम्मेवार र पारदर्शी भएको बताउदै सरकारी कम्पनी भएकोले विभिन्न ऐन, कानुनका कारण निर्णय प्रक्रियामा ढिलाई हुने भए पनि कम्पनीले प्रतिस्पर्धात्मक रूपमा सेवा प्रदान गरिरहेको बताउनुभयो। सोही अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले ग्राहकलाई प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय सेवा प्राप्त होस् भन्ने प्राधिकरणको मुख्य उद्देश्य प्राप्तिमा टेलिकमले सहयोग पुर्याएको बताउँदै केही समयमै नेपाल टेलिकम फोरजीमार्फत् देशभर सेवा प्रदान गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीको समग्र अवस्था बारेमा जानकारी गराउँदै वार्षिकोत्सवको अवसरमा सेवाग्राहीका लागि विभिन्न प्याकेज तथा छुटको घोषणा गर्नुभयो। उहाँले कम्पनीको प्रगतिमा सहयोग पुग्ने सकारात्मक सुझावलाई ग्रहण गर्दै ग्राहक सेवालाई मूलमन्त्र मानेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सञ्चारमन्त्री बस्नेतले वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिका विमोचन गर्नुका साथै कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो।

१४ वर्ष अघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिब ४ लाख २२ हजार मात्र रहेकोमा देशभर तारसहित र ताररहितका सेवा तथा डाटा सेवा सञ्चालनमा ल्याएपछि कम्पनीको ग्राहक आधारमा निरन्तर वृद्धि भई १ करोड ८५ लाख नाघिसकेको छ। कम्पनीको व्यावसायिक उपलब्धितर्फ भ्वाइस सेवातर्फ कम्पनीको ग्राहक आधार १७ दशमलव २३ प्रतिशतले वृद्धि भई २०७४ असार मसान्तमा १ करोड ७६ लाख २ हजार पुगेको छ। उक्त आँकडा क्रमिक रूपले वृद्धि हुँदै २०७४ मंसिर मसान्तसम्म ग्राहक आधार १ करोड ८५ लाख ५८ हजार र टेलिघनत्व ६४ दशमलव ६३ पुगेको छ।

त्यस्तै कम्पनीको वित्तीय उपलब्धि हेर्दा कम्पनीको गत आर्थिक वर्षमा कुल आम्दानी ४४ अर्ब ५९ करोड पुगेको छ। यसैगरी, कम्पनीको खुद नाफामा १३ दशमलव ४२ प्रतिशतले वृद्धि गत आर्थिक वर्षमा १५ अर्ब ३७ करोड पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई १०२ रुपियाँ ४९ पैसा पुगेको छ।

कम्पनीमा रणनीतिक साझेदार भित्र्याउने सरकारको नीतिअनुसार रणनीतिक साझेदार छनोट सम्बन्धी कार्य गर्न परामर्शदाता कम्पनी चयन गरिएको र हाल कम्पनीका डीडीएको कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्