लिभरपुल बराबरीमा रोकियो



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिगको खेलमा लिभरपुल टोटनह्याम हट्सपरसँग २–२ गोलको बराबरीमा रोकिएको छ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको तेस्रो मिनेटमै मोहमद सलाहले गोल गर्दै लिभरपुललाई शुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफसम्म एक गोलले अघि रहेको लिभरपुलविरुद्ध टोटनह्यामले बराबरी गोल फर्काउन ८०औं मिनेटसम्म कुर्नुपरेको थियो। टोटनह्यामका लागि ह्यारी केनले इन्जुरी समयको पाँचौं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएपछि लिभरपुल जितबाट वञ्चित भएको हो।

टोटनह्यामका लागि भिक्टोर वानयमाले बराबरी गोल गरेका थिए। खेलको ८७औं मिनेटमा टोटनह्यामले अग्रता लिने उत्कृष्ट मौका गुमाएको थियो। लिभरपुलका गोलरक्षक लोरिस कारिएसले ह्यारी केनलाई डी एरियाभित्र फल गरेपछि टोटनह्यामले पेनाल्टी हान्ने अवसर प्राप्त गरेको थियो। तर केनको उक्त पेनाल्टी प्रहारलाई लिभरपुलका गोलरक्षक लोरिसले नै बचाएका थिए।

यस्तै खेलमा थपिएको इन्जुरी समयको पहिलो मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–१ ले अग्रता दिलाएका थिए। तर इन्जुरी समयको पाँचौं मिनेटमा टोटनह्यामले पुनः पेनाल्टी प्रहार गर्ने अवसर पायो। जसलाई केनले सफल प्रहार गर्दै खेललाई २–२ गोलको स्थितिमा टुंग्याउन सफल भए। उक्त गोलसँगै केनले प्रिमियर लिगमा आफ्नो सयौं गोलसमेत पूरा गरेका छन्। बराबरीपछि लिभरपुलले २६ खेलबाट ५१ अंक जोडेको छ। यस्तै टोटेनह्यामको समान खेलबाट ४९ अंक भएको छ।

प्रिमियर लिगअन्तर्गत क्रिस्टल प्यालेस र न्युक्यासल युनाइटेडबीच आइतबार राति नै भएको अर्को खेल पनि १–१ गोलको बराबरीमा टुंगिएको छ। खेलको २२औं मिनेटमा डीएमेले गोल गर्दै न्युक्यासल युनाइटेडलाई शुरुआती अग्रता दिलाएका थिए। तर खेलको ५५औं मिनेटमा मिलिभोजेभिचले गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो।

प्रतिक्रिया दिनुहोस्