नेपाली खेलाडीलाई मिश्रित सफलता



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल आईटीएफ जुनियर यू–१८ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट १ मा नेपाली खेलाडीलाई मिश्रित सफलता प्राप्त भएको छ।

पुरुष एकलतर्फ सोमबार नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरेकामा प्रणव खनालले मात्रै जित हासिल गरे। प्रणवले सातदोबाटोस्थित टेनिस कोर्टमा भारतका बलिया प्रतिद्वन्द्वी आदित्य चोपडाविरुद्ध पहिलो सेट हारेर पनि जित्न सफल भएका हुन्। पहिलो सेट ३–६ ले गुमाएका प्रणवले त्यसपछि लगातार सेट ६–३, ६–१ ले हात पारेर अन्तिम १६ मा स्थान बनाएका छन्।

तर अन्य दुई खेलाडी भने भारतका खेलाडीसँग पराजित भएका थिए। जसमा रिषभ अग्रवालसँग निशान श्रेष्ठ ६–३, ६–१ ले हारे भने इभ्येक जोशीले वंश भग्तानीविरुद्ध एक सर्भिस गेम मात्रै जित्न सकेका थिए। उनी ६–०, ६–१ ले हारेका थिए।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा नेपालका तर्फबाट सात खेलाडीले प्रतिस्पर्धा गरेकामा तीन जनाले जित दर्ता गरे। जसमा माहिका राणाले भारतकी रुदया शाहलाई ६–१, ६–० ले माथ खुवाइन्। त्यस्तै इरा रावतले भारतकै अस्प्रित कौर बाज्वालाई ६–१, ७–५ ले हराउँदा प्रेरणा कोइरालाले जित्न कडा संघर्ष गर्नुपर्यो। भारतीय खेलाडी गौरी अग्रवालसँग प्रेरणाले पहिलो सेट ३–६ ले गुमाइन्। तर त्यसपछि उनले ६–३, ६–० ले जित्दै सम्भावित हारलाई टारेकी थिइन्। तीनै खेलाडीले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्।
अन्य नेपाली महिला खेलाडीमा अभिलाषा विष्ट, प्रकृति श्रेष्ठ, सलोनी तामाङ र मायांका राणाले भने जित हात पार्न सकेनन्। अभिलाषाले फिलिपिन्सकी मा कार्मेनसिता इसाबेला कार्लोससँग पहिलो सेट जितेर पनि बाँकी सेट हार्न पुगिन्। त्यस्तै भारतकी प्रिंकल सिंहसँग प्रकृतिले एक गेम पनि जित्न सकिनन्। हङकङकी चुइ केइ लिउङविरुद्ध सलोनी पनि सोझो सेटमा हार्दा मायांकाले भारतकी स्मृति भासिनसँग दोस्रो सेट जितेर पुनरागमन गर्न कोसिस गरेकी थिइन्। तर निर्णायक सेट हारेपछि उनले खेल गुमाएकी थिइन्।

छदिने प्रतियोगितामा नेपालसहित ११ राष्ट्रबाट पुरुष र महिलामा समान ३२–३२ खेलाडी सहभागी छन्। उनीहरूले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्