ए–कता ! कामरेड?



एमाले–माओवादीबीचको एकताको प्रसंग सुन्दा–सुन्दा धेरैको कान पाकिसक्यो। हरेक दिन त्यही विषय, त्यही प्रसंग दोहोरिएपछि नपाकोस् पनि किन? कुनै दिन नयाँ निर्णय र प्रसंग आए पो समाचार हेर्न, सुन्न जागर चल्नु? धेरैले त एकतालाई ए–कता भन्न थालिसके।

तर नेताहरूले छिट्टै एकता हुन्छ, सरकार गठनअघि नै प्रक्रिया टुङ्गोमा पुग्छ भन्न छोड्या छैनन्। दुवै दलका शीर्ष नेताहरू प्रायः हरेक दिन यस्तै वाक्य र शब्द दोहोर्याउँछन्। यस्तै शैलीबाट वाक्क भएर होला सोमबार माओवादी नेता कृष्णबहादुर महराले एकता हुँदा दुवै दलका नेताले पुरानो मनोविज्ञान त्याग्नुपर्ने बताएका।

नयाँ पार्टी निर्माणमा चुनावी तालमेलजस्तो संख्या बाँडफाँडको कुनै औचित्य नहुने महराको तर्क छ। उनको यस्तो तर्कमा धरहरालाई भने ठूलै शंका छ है। अब एमालेवालाहरूको पनि नयाँ तर्क आउनै बाँकी होला। दुवै दलका नेताहरूलाई गुपचुपमा पार्टी एकता प्रक्रिया अघि बढाउन धरहरा सल्लाह दिन चाहन्छ। अस्ति नै चुनावअघि खुसुक्क कार्यगत एकता गरेजसरी।

हैन भने, खै कुन कुन देशी–विदेशी शक्तिका अनेक प्रकारका सल्लाह सुझाव आएको आएै हुने भयो। अहिले नै चाहिनेभन्दा बढी सुझाव आएको आएै छ कि?

प्रतिक्रिया दिनुहोस्