ढुंगाको बेञ्च, बगरमा पढाई



मोतीराम तिमल्सिना, बनखु, काभ्रे ।

लोकतन्त्र, गणतन्त्र हुँदै नयाँ संविधान पछि तीनवटै तहको निर्वाचन भए पनि सिन्धुलीको शान्तिश्वरी गाविस ३ हालको घ्याङ्गलेक गाउँपालिकामा रहेको माटिखानी बालज्योती प्राथमिक विद्यालयका बालबालिकाहरु ढुंगालाई बेञ्च सम्झेर खोालको बगरमा अध्ययन गरिरहेका छन् ।

दलित बस्तिमा रहेको उक्त विद्यालयको भवन भुकम्पले तहस नहस बनायो । भुकम्प नजाँदै पनि भवनसम्म बालबालिकाहरु पुग्न सक्ने अवस्था थिएन । वर्षातको समय खोला ठुलो आउँदा पुल नभएकै कारण खोला सुकेपछि बस्तिबाट केहि टाढा रहेको विद्यालयमा बालबालिकाहरु जाने गरेका थिएनन् ।

अभिभावकहरुले विद्यालय भवन हुँदासम्म बालबालिकाहरुलाई भवनसम्मै पु¥याउने गरेको भए पनि भवन भत्किएर अध्यापन गराउन नहुने भएपछि खोलाको बगरमै ढुंगाको बेञ्च सम्झेर पढाउन थालेका छन् । न शिक्षा कार्यालयले शिक्षक उपलब्ध गराएको छ, न विद्यालय भवन छ न विद्यालयका लागि आवश्यक पर्ने पूर्वाधारहरु नै छन् । खोलाको बगरमा विद्यार्थीहरुको भविश्य नविग्रियोस भनेर अभिभावकहरु आफैले रकम उठाएर नीजि श्रोतमा शिक्षक राखेर पढाईरहेको उक्त विद्यालयको अवस्था प्रति शिक्षा कार्यालय र स्थानीय सरकारको ध्यान जान सकेको छैन ।

‘बार्षिक ४० हजार रकम विद्यालयका लागि उपलब्ध हुँदै आएको छ’– अभिभावक रुपेश विश्वकर्माले भने–‘त्यहि रकमबाट मासिक २ हजार दिने गरि स्थानीयलाई नै शिक्षकको रुपमा नियुक्ति गरेका छौं ।’ सानै उमेर देखि विद्यालय पठाउन बानी लगाउन सकिएन भने ठुलो भएपछि विद्यालय जाँदैनन त्यहि भएर बालबालिकाको भविश्य उज्ज्वल बनाउन पनि खोलाकै वगरमा भए पनि विद्यालय शुरु गरिएको रुपेशले बनाए । ३३ जना बालबालिका रहेको उक्त विद्यालयमा ९६ प्रतिशत दलितका छोराछोरी अध्ययन गर्छन । विहान १० बजे शुरु गरिएको विद्यालय दिउसो १ बजे विदा गर्ने गरिएको छ ।

रौतहटबाट विवाह गरी सिन्धुलीको शान्तेश्वरी आईपुगेकी वर्षा विश्वकर्माले ३ महिना देखि उक्त विद्यालयमा अध्यापन गराउँदै आएकी छिन् । घ्याङ्गलेख गाउँपालिका वडा नम्वर ५ मा रहेको उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थी ३ वर्ष देखि ८ वर्षसम्मका छन् । ८ वर्षसम्मका बालबालिकाहरु गाउँ भन्दा टाढा रहेको रामपुर उमावीमा जानसक्ने अवस्थामा छैनन ।

भुकम्प गएपछि बगरमै बनाएको टहराको जस्ता पनि बतासले उडाईसकेको छ । जस्ताले उडाएको टहरामा बसेर विद्यार्थीको भविश्य कोरिरहेकी बर्षा हिउँदमा बगरमा पढाए पनि बर्षाका लागि विद्यालय कहाँ खोज्ने चिन्तामा छिन् । अभिभावकहरुले पटक पटक उक्त विद्यालयको भवन निर्माणका लागि चासो दिए पनि शिक्षा कार्यालय, वडा कार्यालय र गाउँपालिकाले चासो दिएका छैनन ।

खोलाको बगरमै विद्यार्थीहरु पढाईरहँदा विद्यार्थीहरुलाई स्वास्थ्यको समस्या छ नै शौचालयको समेत समस्या छ । ‘शौच आउने वितिक्के दौडँदै खोलाको किनार नजिकैको झाडीमा पठाउने गरेको छु’–बर्षाले भनिन–‘बालबालिकाहरुलाई रुघा, खोकी, ज्वरो लगायत ढुंगाको चिसोबाट अन्य समस्या समेत देखिएको छ ।’

बालबालिकाहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री समेत नभएको, डेक्स, बेञ्च सामान्य आधारभुत कुराहरु समेत उपलब्ध नभएको उक्त विद्यालयको अवस्था ढुंगेयुग जस्तै रहेको अभिभावक रुपेशले बताए । ‘यस्तो विद्यालय निर्माण र बालबालिकाहरुको भविश्यका बारेमा जानकारी गराएका छौ’–अभिभावक विश्वकर्माले बताए ।

काभ्रेको महाभारत र सिन्धुलीको घ्यागाउँपालिकाको सिमानामा रहेको माटिखानी बालज्योती प्रावि ।

प्रतिक्रिया दिनुहोस्