चार प्रदेशको समृद्ध बनाउने प्रतिज्ञा



नेपाल समाचारपत्र
काठमाडौं
सात प्रदेशमध्ये ४ वटा प्रदेशको पहिलो बैठक आइतबार सम्पन्न भएको छ। २ नम्बर प्रदेश, ५ नम्बर प्रदेश, ६ नम्बर प्रदेश, र ७ नम्बर प्रदेशको पहिलो बैठक सम्पन्न भएको छ।

चारवटै प्रदेशको बैठकमा आफ्नो प्रदेशलाई समृद्ध बनाउन लागिपर्ने सांसदहरूले बताएका थिए। पहिलो बैठकमा सहभागी सांसदले प्रदेशलाई कस्तो बनाउने भन्दा पनि समृद्ध बनाउने भन्दै भाषण गरे तर समृद्धिका योजना भने कुनै पनि सांसदले बैठकमा प्रस्तुत गर्न सकेका थिएनन्।

पहिलो बैठक भएका कारण दलहरूले एकले अर्कालाई आक्षेप लगाउने भन्दा पनि आफ्नो दलले अघि सारेका धारणा सार्वजनिक गरेका थिए।

सम्वृद्ध बनाउने उद्घोष
जनकपुर, (नेस)
प्रदेश नम्बर २ को बैठक शुरु हुनासाथ मधेसी शहीदको फोटो नराखेको भन्दै प्रदेश सांसदहरूले हो–होल्ला गरेपछि केहीबेर बैठक स्थगित भएको थियो। सभाहलमा तस्वीर राख्ने व्यवस्था हुनासाथ बैठक शुरु भएको थियो। पहिलो बैठकले आफ्नो प्रदेशलाई सम्वृद्ध बनाउने उद्घोष सांसदहरूले गरेका थिए।

प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य लगनलाल चौधरीले बैठक प्रारम्भ गर्दै प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट प्राप्त पहिलो अधिवेशनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएपछि प्रदेशसभा सदस्यले दलीय प्रतिनिधित्वका आधारमा मन्तव्य राखे।

संघीय समाजवादी फोरम नेपालका लालबाबु राउतले संविधान संशोधनमा जोड दिँदै प्रदेशमा चुनौती अधिक भए पनि उपलब्ध स्रोत साधनलाई अवसरका रूपमा लिई सदुपयोग गरेमा प्रदेश नं २ नमुना बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रिय जनता पार्टीका जीतेन्द्र सोनारले मधेसी जनताका लागि ६५ वर्षपछि आजको दिन ऐतिहासिक र स्वर्णीम दिन भएको प्रसंग उल्लेख गर्दै प्रदेशलाई सभ्य र व्यवस्थित गर्ने दायित्व सबैमा आएको छ भन्नुभयो।

नेकपा (एमाले) का सत्यनारायण मण्डलले प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सभ्यता र संस्कृतिको केन्द्र भएको चर्चा गर्दै प्रदेशमा व्याप्त, अशिक्षा तथा युवाशक्ति पलायनजस्ता समस्या समाधानमा सबैको ध्यान जानु आवश्यक भएकाले प्रदेश सरकारलाई एमालेले रचनात्मक सहयोग गर्नेछ भन्नुभयो।

नेपाली कांग्रेसका रामसरोज यादवले संविधान संशोधन, कृषि व्यवस्थापन, चुरे संरक्षण, सुनकोशी कमला डाइभर्सन, सिँचाइ आयोजना कार्यान्वयन आदिमा जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो।

नेकपा (माओवादी केन्द्र)का भरतकुमार साहले प्रदेशको उर्वरभूमिको सदुपयोग तथा विपन्न वर्गको उत्थानमा ऐक्यबद्धताको आवश्यकता छ भन्नुभयो।

सामूहिक एजेन्डामा जोड
यमलाल भुसाल, बुटवल
प्रदेश नम्बर ५ को आइतबार बसेको पहिलो बैठकले सभामुखको निर्वाचन आउँदो फागुन २ गते गर्ने निर्णय गरेको छ। बैठकले कार्यसञ्चालन कार्यविधि–२०७४ समेत पारित गरेको छ।

त्यसै गरी सभामुख चयन नहुँदासम्म बैठकको कार्य सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको छ। जसमा प्रदेशसभाका सदस्य कमलराज श्रेष्ठ, दधिराम न्यौपाने, अष्टभुजा पाठक, सन्तोषकुमार पाण्डे र तारा जीसी रहनुभएको छ। ८० वर्षीय जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले पहिलो बैठकको सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो। बैठक शुरु हुनासाथ सभामुख पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभा आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो। बैठकमा बोल्दै नेकपा एमाले ५ नम्बर प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले स्थानीय तह र केन्द्र सरकार पूर्ववत् संरचनाबाट अगाडि बढेको बताउनुभयो।

उहाँले ५ नम्बर प्रदेशलाई समुउन्नत बनाउनका लागि आवश्यक आधार भएकाले सामूहिक एजेन्डा बनाएर अगडि बढ्नुपर्नेमा जोड दिनुभयो। संसदीय दलका नेता पोखरेलले छोटो समयमा प्रदेशका धेरै कानुनहरू निर्माण गर्नुपर्ने भएकाले जिम्मेवारी बोधका साथ सामूहिक प्रयत्न र उत्साहका साथ बैठकमा सहभागी हुन सांसदहरूलाई आग्रह गर्नुभयो। माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीले दलीय सहमति र सहकार्यबाट आइपर्ने सबै प्रकारका समस्याको समाधान गरिने बताउनुभयो।

नेपाली कांगे्रसका सांसद वीरबहादुर रानाले समतामूलक समाज निर्माणका लागि आर्थिक विकासमा जोड दिनुपर्ने बताउनुभयो। संघीय समाजवादी फोरम नेपालका सांसद सहराम यादवले दलीय सहमति र सहकार्यका साथ अगाडि बढ्नु पर्ने बताउनुभयो। राष्ट्रिय जनमोर्चाका सांसद तारा जीसीले विकासको प्रचुर सम्भावना रहेको प्रदेश भएकाले विकेन्द्रित र सन्तुलित विकासमा जोड दिनुभयो। उहाँले सरकारले ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल तोके तापनि स्थायी राजधानीका लागि उच्चस्तरीय आयोग बनाएर टुङ्गो लगाउनुपर्ने माग गर्नुभयो।

‘दलगत स्वार्थभन्दा माथि उठ्छौं’
प्रकाश पन्त, वीरेन्द्रनगर
प्रदेश ६ मा प्रदेशसभा सभामुखको निर्वाचन माघ २९ गते हुने भएको छ। प्रदेशसभाको दोस्रो बैठक माघ २९ गते बस्ने भएको छ। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा बसेको पहिलो प्रदेशसभा बैठकले सभामुखको निर्वाचनको मिति तोकेको हो।

पहिलो प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै एमाले, कांग्रेस, माओवादी र राप्रपाका सांसदले प्रदेश नम्बर ६ लाई समृद्धि बनाउन दलगत स्वार्थभन्दा माथि उठ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
एमालेका सांसद यामलाल कँडेलले ६ नम्बर प्रदेशका जनताले समृद्धि प्रदेश निर्माणको जिम्मा दिएकाले जनताको चाहानाअनुसार अघि बढनुपर्नेमा जोड दिनुभयो। उहाँले भौगोलिकरूपमा विकट भए पनि स्रोत साधानमा धनी भएकाले प्रदेशको भौगोलिक विकटतालाई सुन्दरतामा बदल्नुपर्ने बताउनुभयो। नेकपा माओवादीका सांसद महेन्द्रबहादुर शाहीले व्यवस्था परिवर्तन भइसकेकाले अब आर्थिक समृद्धिमा जुट्नुपर्नेमा जोड दिनुभयो।

नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाहीले प्रदेशलाई समृद्ध बनाउनका लागि दलगत स्वार्थभन्दा माथि उठ्ने बताउनुभयो। राप्रपाकी सांसद सुशीला शाहीले प्रदेश निर्माणको गहन जिम्मेवारीलाई सबैले कुशलतापूर्वक बहन गर्नुपर्ने बताउनुभयो।

समृद्धिका लागि एकजुट
हेमन्त पौडेल, कैलाली
प्रदेश नं ७ को पहिलो प्रदेशसभा बैठकमा बोल्ने सांसदले प्रदेशको समृद्धिका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रदेशसभाका ज्येष्ठ सदस्य दिव्येश्वरी शाहको अध्यक्षतामा भएको बैठकमा सांसद प्रकाश शाहले प्रदेश नं ७ जलविद्युत्, वनसम्पदा, जडीबुटीलगायतका प्राकृतिक स्रोतमा अन्य प्रदेशको तुलनामा धनी रहेको बताउँदै त्यसको सदुपयोगमा जोड दिनुभयो।

अर्का सांसद भरतबहादुर खड्काले पनि समृद्धिका लागि एकजुट भएर लाग्नुपर्ने मै जोड दिनुभयो। अर्का सांसद त्रिलोचन भट्टले प्राकृतिक स्रोतको सही व्यवस्थापन गर्न सकिए प्रदेश नं ७ समृद्ध हुने बताउनुभयो।

सभामुखको निर्वाचन माघ २९ मा बैठकले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कायविधि–२०७४ लाई पारित गर्यो। कार्यविधिअनुरूप प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २९ दिउँसो १ बजे तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्