लमजुङको रंगमञ्चमा पानीघट्ट



लमजुङ, (नेस)। गाउँघरमा लोपोन्मुख लोक संस्कृति तथा सामाजिक मुद्दा उठाउँदै लमजुङको जिल्ला सदरमुकाम बेंसीशहरमा नाटक पानीघट्ट मञ्चन गरिएको छ। नाटककार पुरु लम्सालद्वारा लिखित एवं निर्देशित नाटकमा गाउँमा बढ्दो बेजोगारी र गरिबीका कारण सबै युवा विदेश पलायन भएको कथा थियो।

कथाअनुसार जो बाँकी छन् ती सबै वृद्धवृद्धा, बालबालिका, महिला तथा अशक्त अपांगता भएका छन्। एक परिवारमा आर्थिक संकटले छोरा विदेश पलायन हुन्छ र विदेशमा जेल पर्छ। कमाउन गएको सन्तानको यस्तो खबर सुनेपछि घरमा रहेका वृद्ध बाजे बसेको ठाउँमै ढल्छन् र तत्कालै उनको प्राण पखेरो उड्छ। गाउँमा उनको शव उठाउने पुरुष कोही हुँदैनन्। महिला नै शव बोक्न बाध्य हुन्छन्। यस्ता कथाको नाटक मञ्जरी नाट्य समूह लमजुङको प्रस्तुतिमा मञ्चन गरिएको हो।

नाटकमा लोक संस्कृतिका रूपमा रहेको लोपोन्मुख ठाडोभाका गीतको संकटपूर्ण स्थितिलाई पनि उजागर गरिएको छ। कुनै दिन गाउँघरमा कुटानी पिसानीको अभिन्न अंगका रूपमा रहेको पानीघट्ट हिजोआज देख्न रहर हुन थालेको छ, त्यसैलाई नाटकको नाम दिइएको हो। गाउँका ३ युवा रक्सी पिएर रमाइलो गरेको दृश्यबाट शुरु गरिएको नाटकले अन्त्यमा अधिकांश दर्शकलाई रुवाउँछ।

नाटकको दृश्यले आफूलाई पटक–पटक रुवाएको नाटक हेर्न आएकी बेंसीशहर–८ की सुधा ढकालले बताइन्। ‘परिवारमा उत्पन्न आर्थिक संकट टार्न विदेश पलायन भएका युवाले विदेशी भूमिमा गरेका दुःख, स्वदेशमा घर–परिवारले भोगेको समस्याहरूलाई यथार्थतामा उतारिएको रहेछ, तर नाटकको जस्तो स्थिति भोग्न कसैलाई नपरोस्’ –उनले भनिन्। जिल्लामा यस्तो नाटक देखाइने कल्पनासम्म आफूले नगरेको सांसद धनञ्जय दवाडीले बताए। ‘हेर्दा सामान्य लागे पनि बुहारी, छोरी र नातिले शव उठाउनुपर्ने एउटा बाध्यता हाम्रो समाजमा छ। यो यथार्थभित्रको सामाजिक क्रान्ति पनि हो’ –नाटकका लेखक तथा निर्देशक पुरु लम्सालले बताए।

सवा घण्टाको नाटकमा तीन पुस्ताको समिश्रण देखियो। नाटकमा १३ वर्षीय बालक विप्लव बोहरादेखि ७० वर्षीय विष्णुभक्त अधिकारीसम्म विभिन्न उमेर समूहका १७ जना कलाकारले अभिनय गरेका थिए। नाटकमा केदार बोहोरा, सञ्जोग लामिछाने, टीकाराम घिमिरे, भरत राना, नरमाया तामाङ, हिमाल मजाकोटी, शान्ति श्रेष्ठ, निर्मला परियार, आशिष परियार, रमिला अर्याल, तीर्थ गुरुङ, सुवास क्षितिज, लक्ष्मी श्रेष्ठ, गोपाल परियार, विमला मिजारले अभिनय गरेका थिए। नाटक आगामी फागुन ११ देखि १३ गतेसम्म भारतको कोलकत्तामा हुन लागेको अन्तर्राष्ट्रिय नाटक उत्सवमा नेपालबाट छनोटमा परेको एकमात्र नाटक भएको पनि सो नाटकका लेखक तथा निर्देशक पुरु लम्सालले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्