आर्सेनलको शानदार जित



लन्डन, (एजेन्सी)
आरोन राम्सेको ह्याट्रिक मद्दतमा आर्सेनलले इंग्लिस प्रिमियर लिगमा एभर्टनलाई ५–१ गेल अन्तरले पराजित गरेको छ।

शनिबार राति भएको खेलको पहिलो हाफसम्म आर्सेनल ४ गोल अघि रहेको थियो। खेलको छैठौ मिनेटमा नै राम्सेले गोलको खाता खोलेका थिए। यस्तै खेलको १४औं मिनेटमा कोसेल्नीले गोल गर्दै आर्सेनलको अग्रता दोब्बर पारेका थिए।

त्यसको तीन मिनेटपछि नै राम्सेले ब्यक्तिगत दोस्रो गोल गर्दै आर्सेनलको गोलसंख्या तीन पुर्याएका थिए। यसैगरी भर्खरै मात्र बोरुसिया डर्टमन्डबाट आर्सेनल भित्रिएका पिएरे एम्रिक औवामेयाङले डेब्यु खेलमै गोल गरेपछि पहिलो हाफसम्म आर्सेनल ४–० ले अघि रहेको थियो। यता खेलको ६४औं मिनेटमा एभर्टनका लागि डवमिनिक लेविनले एक गोल फर्काए। तर खेलको ७४औँ मिनेटमा राम्सेले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेपछि आर्सेनलले शानदार जित आत्मसात गर्यो। जितपछि २६ खेलबाट ४५ अंक जोडेको आर्सेनल लिग तालिकाको छैटौं स्थानमै यथावत् छ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको अर्को खेलमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी बर्नलीसँग १–१ को बराबरीमा रोकियो। डिफेन्डर ड्यानिलोले खेलको २२औं मिनेटमा गोल गर्दै म्यानचेस्टर सिटीलाई पहिलो हाफसम्म एक गोलले अघि पारेका थिए। तर बर्नलीका जोहान गुडमुनसनले खेलको ८२औं मिनेटमा गोल गर्दै घरेलु टोली बर्नलेलाई खेलमा फर्काउन सफल भए।

यसै गरी अर्को खेलमा म्यानचेस्टर युनाइटेडले हडर्सफिल्डलाई २–० ले पराजित गर्यो। पहिलो हाफसम्म गोलविहीन उक्त खेलको ५५औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई अघि पारेका थिए। यस्तै म्यानचेस्टर युनाइटेडका लागि दोस्रो खेल खेल्दै गरेका एलेक्सिस सान्चेजले युनाइटेडकातर्फबाट पहिलो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। यसैगरी अन्य खेलमा साउथह्यामप्टनले वेस्टब्रोमलाई २–३ ले हराउँदा ब्राइटनले वेस्टह्यामलाई ३–१ ले तथा बाउर्नमाउथले स्टोक सिटीलाई २–१ ले पराजित गर्यो। लेस्टर सिटी र स्वान्सीले भने १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। शनिबारको खेलपछि शीर्षस्थानमा अडिग रहेको म्यानचेस्टर सिटीको २६ खेलबाट ६९ अंक रहेको छ। यस्तै दोस्रोमा रहेको युनाइटेडले समान खेलबाट ५६ अंक जोडेको छ।

रियल मेड्रिड रोकियो
स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा रियल मेड्रिड लेभान्टेसँग २–२ गोलको बराबरीमा रोकिएको छ। लेभान्तेको घरेलु मैदानमा भएको खेलमा रियलले २ पटकसम्म अग्रता लिए पनि बराबरीमा नै चित्त बुझाउनुपरेको हो। खेलको ११औं मिनेटमा रियलका लागि कप्तान सर्जियो रामोसले पहिलो गोल गरेका थिए। तर लेभान्टेका लागि इभी लोपेजले २६औं मिनेटमा गोल गर्दै खेललाई पहिलो हाफसम्म १–१ को बराबरीमा ल्याएका थिए। यस्तै खेलको ८१औं मिनेटमा इस्कोले गोल गरेपछि रियलले २–१ को अग्रता बनाएको थियो।

तर लेभान्टेका गियामपाओली पिज्जनीले ८९औं मिनेटमा गोल गर्दै जित नजिक पुगेको रियललाई अंक बाँड्न बाध्य बनाए। खेलको ८९औं मिनेटमा मार्सेलो भिएराले रातो कार्ड देखेपछि रियल १० खेलाडीमा खुम्चिएको थियो।

बराबरीपछि २१ खेलबाट ३९ अंक जोडेको रियल चौथो स्थानमा यथावत छ। समान खेलबाट ५७ अंक जोडेको बार्सिलोना लिग तालिकाको शीर्षस्थानमा अडिग नै रहेको छ। ला लिगाअन्तर्गत शनिबार भएको अन्य खेलमा आइबरले सेभियालाई ५–१ ले हराउँदा रियल बेटिसले भिया रियललाई तथा अलाभेसले सेल्टा भिगोलाई समान २–१ ले पराजित गर्यो।

प्रतिक्रिया दिनुहोस्