टेलिकमद्वारा सहयोग



काठमाडौं, (नेस)
नेपाल टेलिकमको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत शनबिार २४७औं हप्ताको बागमती सफाइ अभियानमा टेलिकम सहभागी भएको छ। सो अवसरमा कम्पनीले बागमती सफाइ महाअभियानमा प्रयोग हुने विभिन्न सामग्रीसमेत सम्बन्धित निकायलाई उपलब्ध गराएको छ।

उक्त अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलाई बागमती सफाइ कार्यमा प्रयोग हुने विभिन्न सामग्री हस्तान्तरण गर्नुभयो। सफाइ अभियानमा नियमित संलग्न हुने अभियन्ताका लागि १ सय जोर ट्रयाक सुट, ३ सय जोर गमबुट, ३ सय जोर ठूलो पञ्जा, ५० वटा फलामे सुइरो, ५० वटा थुन्से र ५ सय वटा भन्दा बढी मास्क हस्तान्तरण गरिएको थियो।

उक्त अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बागमतीका साथै नेपालका सम्पूर्ण नदी सफा गर्नुपर्ने आवश्यकतामा जोड दिँदै यस्ता कार्यमा कम्पनीले सधैं सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। उहाँले फोहोरको स्रोत नै बन्द गर्नु राम्रो भएकाले यसतर्फ ध्यान दिन पनि सबैलाई आग्रह गर्नुभयो।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले नेपाल टेलिकमले विगतदेखि नै बागमती सफाइमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै कम्पनीको प्रगतिको कामना गर्नुभयो। नेपाल टेलिकमले बागमती सफाइ अभियान शुरू भएको दोस्रो हप्तादेखि नै हरेक हप्ता समूहगत रूपमा आफ्ना ग्राहकलाई सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट एसएमएस पे्रषित गर्दै आएको छ। नेपाल टेलिकमको वार्षिकोत्सवकै सन्दर्भमा कर्मचारीहरूका बीच ५ किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगिताको आयोजनासमेत गरिएको थियो। वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका बुद्धिचाल, ब्याडमिन्टन, टेबुलटेनिस, हाजिरी जवाफलगायतका प्रतियोगिताहरू यस अघि नै सम्पन्न भइसकेका छन्। विजयी खेलाडीहरूलाई एक कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र अतिरिक्त क्रियाकलाप समितिका संयोजक तथा प्रमुख मानव संशाधन अधिकृत राजुबाबु अर्यालले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्