नयाँ शैलीमा रानीपोखरी पुनर्निर्माण हुने



ईश्वरराज ढकाल, काठमाडौं

सर्वोच्च अदालतले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण कार्य नरोक्न आदेश दिएपछि पुरातत्व विभागले हाल निर्माण भइरहेको शैलीमै काम अगाडि बढाउने भएको छ। करिब दुई साताअघि विज्ञ समितिले पोखरीको सम्पूर्ण संरचना मल्लकालीन भएकाले सोही शैलीमा बनाउन प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझाएलगत्तै मन्दिरको पुनर्निर्माणको कामसमेत ठप्प भएको थियो।

विभागले टेन्डरमार्फत पुनर्निर्माण गरेको मन्दिर गुम्बज शैलीको छ। सरकारको मुख्य निकाय विभागले गरेको निर्णय फिर्ता नहुने भन्दै गुम्बज शैलीमै रानीपोखरी पुनर्निर्माण गर्ने जनाएको थियो। सर्वोच्च अदालतले गएको माघ २ गते पुरातत्व विभागलाई मन्दिर पुनर्निर्माण गर्न अवरोध नहुने र तत्काल पुनर्निर्माण शुरू गर्न आदेश दिएपछि सो मन्दिरको पुनर्निर्माण हुन लागेको हो।

विभागका महानिर्देशक भेषनारायण दाहालले भोलि आइतबारबाट रोकिएको मन्दिर पुनर्निर्माण कार्य शुरू हुने बताउनुभयो। ‘अदालतले १८ दिनअघि गएको माघ २ गते आदेश दिए पनि विज्ञ समितिको प्रतिवेदन कुरेका थियौं, बिहीबार काठमाडौं महानगरपालिकाले उपलब्ध गराएपछि सर्वोच्चको आदेशबारे जानकारी गराएका हांै।’ –उहाँले भन्नुभयो।

अदालतको आदेश ढिलो प्राप्त गरेको कारण पुनःनिर्माणमा ढिलाई हुन गएको विभागको भनाई छ। समितिले प्रतिवेदन बुझाउदा मन्दिर पुननिर्माणको विषयमा असहमति जनाउदै समितिमा रहेका विभागका तीनजना प्रतिनिधिले हस्ताक्षर गरेका थिएनन्।

विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरे , स्ट्रक्चरल इञ्जिनियर पुरुषोत्तम डंगोल र प्रमुख पुरातत्व अधिकृत, रामबहादुर कुँवरले हस्ताक्षर गरेका थिएनन।

पुरातत्व विभाग र विज्ञ समुहबीच मनमुटाव देखिएपछि रानीपोखरीको बीच भागमा रहेको मन्दीर पुनर्निर्माण हुने वा नहुनेमा अन्योल थियो। अब सर्वोच्चले आदेश दिएपछि मन्दिर पुननिर्माण्को काम सुचारु हुने भएको छ। अदालतको आदेश आइसकेको छ , निरन्तर रूपमा काम शुरु गर्ने छौ–महानिर्देशक दाहालले भन्नुभयो।

आदेशमा प्रत्येक महिना निर्माण कार्यको प्रगति विवरण पेश गर्नुपर्ने उल्लेख गरेको छ। विभागले १ करोड ४० लाख रुपियामा मन्दीरको ठेक्का दिएको थियो। हाल सो मन्दीरमा करिब ४० प्रतिशत काम सकिएको विभागले जनाएको छ। बहुवर्षिय योजना अनुसार विभागले मन्दिर पुनर्निर्माणको ठेक्का दिएको हो। करिब डेढ वर्ष अघि कामपाले पुनर्निर्माण गर्न लागेको सो मन्दीर मापदण्ड विपरित भएको भन्दै पुरातत्व विभागले हस्तक्षेप गरी आफैले बनाउन शुरु गरेको थियो।

विभागले पुननिर्माण शुरु गरेको मन्दिर राणाकालिन शैलीको छ। विज्ञ समितिले मन्दिरको विषयमा थप अध्ययन गरी मल्लकालीन शैलीमै पुनर्निर्माण गर्न महानगरलाई प्रतिवेदन बुझाएको थियो। समितिले मन्दीरको मात्र होइन, समग्र रानीपोखरीको प्रतिवेदन दिएको थियो। विभागले समितिले बुझाएको प्रतिवेदनको आधारमा कामपाले अन्य काम शुरु गर्नुपर्ने विभागको धारणा छ।

समितिले पोखरीको पानीको स्थायीत्वको लागि पानीविज्ञको समिति गठन गर्नुपर्ने, तत्काल लागत स्टिमेट गरी पुननिर्माण थालिनुपर्ने, मन्दीर प्रवेश गर्दा बनाइएको पुल भत्काएर पुरानै शैलीमा निर्माण गर्नुपर्ने ,मल्लकालीन अवस्थामा सोह्हाते गणेश लगायतका अन्य मन्दीर रानीपोखरीको परिसरभित्र परेकोले ती सबै संरचना पोखरीको परिसरभित्र पार्नुपर्ने, वरिपरि निर्माण भएका संरचना तत्काल भत्काउनुपर्ने लगायतका सुझाव प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्