जाँदाजाँदै स्वराजद्वारा नेपालको प्रशंसा



टिका बन्धन, काठमाडौं ।

संविधान जारी गरेपछि स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको प्रशंसा गर्नुभएको छ।
शान्तिपूर्ण रूपमा र जनताको उत्साहपूर्ण सहभागितामा निर्वाचन सम्पन्न भएको बताउँदै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई दिनुभएको हो। आफू अहिले कुनै एजेन्डाबिना नेपाल आएको बताउँदै स्वराजले यो सद्भाव भ्रमण रहेको, खुसीयाली बाँड्न र बधाई दिनका लागि केन्द्रित भएको बताउनुभएको थियो।

भारतले नाकाबन्दी लगाएपछिको असन्तुष्टि यथावत् छ भन्ने प्रस्टरूपमा बुझेको मोदी सरकारले ढिलै भए पनि घुमाउरो शैलीमा माफी मागेको छ।
आचार्य

जवाफमा राष्ट्रपति भण्डारीले निकट मुलुकको भ्रमण सधैं एजेन्डाका रूपमा मात्रै हेर्न नहुने बताउनुभएको थियो। ‘भ्रमण सधैं एजेन्डा बोकेर, लिएर मात्रै हुन्छ भन्ने हुँदैन, नजिकको छिमेकी मुलुकको भ्रमण जुनसुकै बेला हुन सक्छ र हुन्छ।’ –राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले नेपाल समाचारपत्रसँग भन्नुभयो। राष्ट्रपति भण्डारीले दुवै मुलुकबीचको सम्बन्ध सधैं निकट रहेको स्मरण गर्दै अब गठन हुने नयाँ सरकारसँगको सम्बन्ध पनि थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको थियो।

द्विपक्षीय सम्बन्ध समयसापेक्ष बनाउन नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह जुटिरहेकाले समूहले दिने सुझाव कार्यान्वयन हुने उहाँको भनाइ थियो। आफू र आफ्नो मुलुक द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन क्रियाशील रहने स्वराजले बताउनुभएको थियो। अधिकारीका अनुसार राष्ट्रपति र स्वराजबीच करिब आधा घण्टा भेटवार्ता भएको थियो। स्वराजसहितको भारतीय टोली शुक्रबार अपराह्न स्वदेश फर्किएको छ।

स्वदेश फर्कनुअघि विदेशमन्त्री स्वराजसहितको भारतीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू र कांग्रेस केही नेताहरूसँग पनि संयुक्त भेटवार्ता गरेको छ। सो भेटवार्तामा उपप्रधान एवम् ऊर्जामन्त्री कमल थापा भने सहभागी रहनुभएन। अनौपचारिक भ्रमण भन्दै थापा बैठकमा सहभागी नहुनुभएको बताइएको छ। देउवासँगको भेटवार्तामा स्वराजले सरकारले शान्तिर्पूणरूपमा प्रदेश र केन्द्रको निर्वाचन गराएको र त्यो श्रेय देउवालाई जाने भन्दै प्रशंसा गर्नुभएको थियो।

त्यसै गरी स्वराजले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ। दाहाल र यादवसँगको भेटवार्ता मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र नयाँ गठन हुने सरकारका बारेमा केन्द्रित रहेको बताइएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता र राष्ट्रिय जनता पार्टीका नेतासँग स्वराजले बिहीबार नै भेटवार्ता गर्नुभएको थियो।

‘ढिलै भए पनि भारतले सरी भन्यो’
एमाले–माओवादी नेतृत्वमा नयाँ सरकार गर्ने निधो भएपछिको अवस्थालाई भारतले सकारात्मक रूपमा लिएको मुख्य सन्देश दिने उद्देश्यका साथ भएको स्वराजको भ्रमणलाई कूटनीतिक मामिलाका जानकारहरूले सकारात्मक रूपमा लिएका छन्। अब गठन हुने सरकारसँग आफ्नो मुलुकले अझ निकटताका साथ नयाँ ढंगले सम्बन्ध विस्तार गर्न चाहेको प्रस्ट भएको उनीहरूको तर्क छ।

भारतले नाकाबन्दी लगाएपछिको असन्तुष्टि यथावत् छ भन्ने प्रस्ट रूपमा बुझेको मोदी सरकारले ढिलै भए पनि घुमाउरो शैलीमा माफी मागेको कूटनीतिक मामिलाका जानकार नीलाम्बर आचार्यले बताउनुभयो। ‘ढिलै भए पनि भारतले घुमाउरो शैलीमा ‘सरी’ भनेको छ, प्रत्यक्ष भेटघाट गरेर उसले माफी मागेको छ’ –नेपाल–भारत प्रबुद्ध समूहका सदस्यसमेत रहनुभएका उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

नेपालसँगको सम्बन्ध सुधार्न मोदीलाई भारतबाट दवाव आएको र अब एमाले–माओवादी नेतृत्वमा नयाँ सरकार गठन हुने निधो भएपछि भारत नेपालसामु लचक बनेको आचार्यको बुझाइ छ। पूर्वराजदूत एवं परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ सम्बन्ध सुधार्नका लागि नै स्वराजको भ्रमण भएको बताउनुहुन्छ।

यस्तो बेलामा नेपालले आफ्नो स्वाभिमान उच्च राखेर भारतीय पक्षसँग संवाद र भेटवार्ता अघि बढाउनु उचित हुने उहाँको बुझाइ छ। ‘स्वराजको अहिलेको भ्रमणले विगतको असहज परिस्थिति बिर्साउने प्रयास भएको छ, श्रेष्ठले भन्नुभयो– ‘मोदीको यो पहललाई सकारात्मक रूपमा लिनुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस्