शिक्षिका पिट्ने बालकलाई हत्कडी



मायामी, (एजेन्सी)
अमेरिकाको मायामी ड्याड विद्यालयका प्रहरीले आफ्नो शिक्षिकमाथि मुक्का प्रहार गरेको अभियोगमा एक ७ वर्षीय बालकलाई हत्कडी लगाएर नियन्त्रणमा लिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। तर, अहिले ती बालकका आमाले भने प्रहरीद्वारा आफ्नो छोरामाथि मानसिक र शारीरिक उत्पीडन भएको दाबी गरिरहेकी छिन्।

स्थानीय च्यानल ७ डब्ल्यूएसभीएनलाई प्रहरीले दिएको प्रतिवेदनमा बताइएको छ– ‘खाना नखाई खानासँग जथाभावी खेलिहेको पाइएपछि कक्षा एकमा अध्ययनरत ती बालकलाई कोरल वे के–८ सेन्टरको क्याफ्टेरियाबाट ती शिक्षिका उभिरहेको हलको बाटोसम्म पुर्याइएको थियो।

त्यसपछि एक्कासी ती बालकले शिक्षिकाको ढाडमा धमाधम मुक्का बर्साउन थाले। त्यस्तैमा त्यहीं रहेका अर्का एक व्यक्तिले उनलाई रोक्न खोजे। तर, उनले लगातार लात्ती र मुक्का बर्साउन थालेपछि प्रतिवादको कोशिस गर्दागर्दै शिक्षकासहित ती व्यक्ति पनि भुइँमा लड्न पुगे।

ती नाम नखुलाइएकी पीडित शिक्षिकाले छात्रविरुद्ध अभियोग लगाउने बताएकी छिन्। तत्काल विद्यालय पुगेका उनका अभिभावकलाई प्रहरीले बलको मानसिक परीक्षण गराउन लाने नभए उनलाई गिरफ्तार गरिने जानकारी दिएको थियो। बालककी आमा मसी अल्भारेजले प्रहरीको ज्यादती भएको एल नुएभो हेराल्ड न्युजलाई जानकारी गराएकी छिन्।

प्रतिक्रिया दिनुहोस्