एघारौं आईपीएल अक्सनका रोचक कुरा



कविरस शर्मा

इन्डियन प्रिमियर लिग (आईपीएल) को ११औं सिजनका लागि भएको दुईदिने अक्सन आइतबार सकियो। जसमा कुल १ सय ६९ खेलाडी खरिद भएको थियो। जहाँ एकातिर नाम चलेका र क्रिकेटका चिरपरिचित अनुहारको मोलमोलाइमा अनपेक्षित गिरावट आउँदा अर्कोतिर लाखौंको हाराहारीमा मात्र सीमित रहेर बिक्ने अनुमान गरिएका खेलाडीमाथि एकैपटक करोडौं खर्चियो। यसपटकको अक्सनमा इंग्ल्यान्डका क्रिकेटर बेन स्टोक्सलाई सबैभन्दा बढी मूल्य खर्चिएको छ। उनलाई राजस्थान रोयल्सले १२ करोड ५ लाख भारतीय रुपियाँमा अनुबन्ध गरेको हो।

भर्खरै सम्पन्न आईपीएलको अक्सनमा परेका खेलाडीमध्ये इंग्लिस अलराउन्डर २६ वर्षीय बेन स्टोक्स सबैभन्दा महँगा खेलाडी बने पनि अघिल्लो सिजनमा भन्दा यसपटक उनको भाउ घटेको हो। अघिल्लो सिजन उनलाई राइजिङ पुणे सुपर जाएन्टले १४.५ करोड रुपियाँमा किनेको थियो। आईपीएल–१० मा उनले ३ सय १६ रन बनाउँदै १२ विकेट पनि लिएका थिए। यसपटक भने उनको न्यूनतम मूल्य २ करोड रुपियाँ तोकिएको थियो।

स्टोक्सलाई इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) को तर्फबाट आईपीएलको ११औं सिजनमा खेल्ने अनुमति मिलेको थियो। अघिल्लो वर्षको सेप्टेम्बरमा भएको ब्रिस्टल विवादमा मुछिएका कारण उनी गिरफ्तार भएका थिए।

स्टोक्सले यसबारेमा अझै पनि प्रहरीको अन्तिम प्रतिवेदनको प्रतीक्षा गर्नुपरेको छ। स्टोक्स अहिले इंग्ल्यान्डको टिममा छैनन्। यस्तै अन्य दुई भारतीय ब्याटस्म्यान केएल राहुल र मनीष पाण्डे स्टोकपछि महँगो मूल्यमा बिकेका छन्। राहुललाई किंग्स–११ पन्जाबले ११ करोड रुपियाँमा तथा मनीष पाण्डेलाई पनि सनराइजर्स हैदरावादले ११ करोडमै खरिद गरेको हो।

आईपीएल अक्सन २०१८ मा सबैभन्दा महँगो मूल्यमा खरिद भएका भारतीय क्रिकेटर भने जयदेव उनादकट हुन्। गत सिजन राइजिङ पुणे सुपर जाएन्टबाट खेलेका जयदेवलाई यसपटक राजस्थान रोयल्सले ११.५ करोड भारतीय रुपियाँमा आफ्नो टिममा अनुबन्ध गरेको छ।

आईपीएलको इतिहासमा कुनै पनि बलरलाई यति ठूलो रकममा खरिद गरिएको यो नै पहिलो घटनासमेत हो। बायाँहाते यी बलरले सन् २०१७ को आईपीएलमा २५ विकेट झारेका थिए।

तुलनात्मकरूपमा यसपटकको अक्सनमा पुराना तथा नाम चलेका खेलाडीको मूल्यमा अचम्मित तरिकाले गिरावट आयो। तर, अर्कोतर्फ अनुमानै नगरिएका खेलाडीमाथि भने मनग्गे रकम खर्चियो। जसको प्रारम्भिक मूल्य (बेस प्राइस) नै २० देखि ५० लाख रहेको थियो।

उनीहरूमध्ये थुप्रै करोडभन्दा माथिको मूल्यमा बिक्री भएका छन्। तीमध्ये अग्रपंक्तिमा आएका एक भारतीय खेलाडीको नाम हो कृष्णप्पा गौतम।
सन् २०१७ को आईपीएल अक्सनमा मुम्बई इन्डियन्सले उनलाई २ करोड भारतीय रुपियाँमा अनुबन्धित गरेको थियो। तर, उनले उक्त सिजनभरि एउटा पनि म्याच खेल्ने अवसर पाएनन्। यसै कारणले पनि यसपटक उनलाई अक्सनको प्रारम्भिक तथा सबैभन्दा न्यूनतम मूल्य २० लाख भारु मात्र तोकिएको थियो। तर, राजस्थान रोयल्सले भने उनलाई ६.२ करोड भारतीय रुपियाँमा खरिद गर्यो। २९ वर्षीय गौतम कर्नाटकका खेलाडी हुन्। उनी स्पिन बलर र लोअर अर्डरका राम्रा खेलाडी हुन्। उनले अहिलेसम्म भारतको २२ वटा पहिलो श्रेणीको म्याचमा ७९ र लिस्ट ए म्याचमा १० विकेट लिएका छन्। उनले टी–२० को २७ म्याचमा समेत २० विकेट झारेका छन्। गौतमले सन् २०१२ को नोभेम्बरमा पहिलो श्रेणीको क्रिकेट म्याचमा डेब्यु गरेका हुन्। लिस्ट ए को म्याचमा भने उनले सन् २०१७ देखि मात्र खेल्न थालेका हुन्। यद्यपि टी–२० क्रिकेट भने उनले सन् २०११ देखि नै खेल्दै आएका छन्।

यसै गरी वेस्ट इन्डिजका जोफरा आर्चर भने तोकिएको न्यूनतम मूल्यभन्दा धेरै गुणा बढी रकममा बिक्री हुने गैरभारतीय खेलाडी बनेका छन्। आर्चरको प्रारम्भिक मूल्य ४० लाख भए पनि उनलाई राजस्थानले रोयल्सले ७.२ करोडमा खरिद गरेको हो। यो वर्ष आईपीएलमा २० देखि ४० लाख न्यूनतम मूल्य तोके पनि एकैपटक १ करोड रुपियाँ भारुभन्दा माथि फड्को मार्नेमा कोलकाता नाइट राईडर्समा आबद्ध कमलेश नागरकोटी, शिवम् मावी, शुभमन गिल रहेका छन्। यीबाहेक पन्जाब किंग्स इलेभेनका करुण नायर, मयन्क अग्रवाल, मुम्बई इन्डियन्सका ईशान किशन र राजस्थान रोयल्सका राहुल त्रिपाठी पनि २० लाखको न्यूनतम मूल्य रहेर पनि सोझै करोडभन्दा माथि बिक्ने अन्य नाम हुन्।

एकातिर अप्रत्याशितरूपले लाखबाट करोडमा बिक्नेको संख्या वृद्धि हुँदा अर्कोतिर खरिद मूल्यमा अनपेक्षितरूपले घटेको भाउमा बिक्री हुने क्रिकेटका चर्चित नामको सूची पनि लामो नै छ। जसमध्ये गत सिजनभन्दा अहिलेको अक्सनमा ९.७ देखि कम्तीमा ५ करोड भारु कम हुने गरी बिक्नेमा दिल्ली डेयर डेभिल्सका गौतम गम्भीर अग्रपंक्तिमा रहेका छन्। गत सिजन कोलकाता नाइट राइडर्सले १२.५ करोड भारु तिरेको गौतमलाई यसपटक दिल्ली डेयर डेभिल्सले मात्र २.८ करोडमा खरिद गरेको हो। उक्त रकम गत वर्षभन्दा ९.७ करोड कम हो। गत वर्षभन्दा यो वर्ष खरिद मूल्य घट्ने अन्य खेलाडीमा किंग्स इलेभेन पन्जाबका डेभिड मिलर, युवराज सिंह र क्रिस गेल रहेका छन्। यसै गरी सनराइजर्स हैदरावादका शिखर धवन, राजस्थान रोयल्सलका आन्जिक्य रहाणे र चेन्नई सुपर किंग्सका सेन वाट्सन पनि उक्त सूचीमा अटाएका छन्।

प्रतिक्रिया दिनुहोस्