धोकाचाहिँ नहोस्



संविधान जारी हुँदा ‘संविधान जारी गरेको थाहा हुन आएको छ’ भन्ने सन्देश सम्प्रेषण गरेर असन्तुष्टि व्यक्त गरेको दक्षिणतर्फको छिमेकी त्यतिमा मात्र सीमित भएन। मुलुकमाथि अघोषित नाकाबन्दीसमेत लगायो। त्यति मात्रै कहाँ हो र, संविधानमा मधेसका मुद्दा समेट्न पटक–पटक दबाब दिएर ठूल्दाईको व्यवहार गरेको जग जाहेर छ।

नाकाबन्दीको चोट निकै गहिरो भएछ क्यार अहिलेसम्म मेटिन सकेको छैन। त्यस्तो बेलामा छिमेकमा परेको दुःख थाह नपाएझैं गर्न उत्तरतर्फको छिमेकीलाई मन लागेन। दुःखमा साथ दिन र मलहमपट्टी लगाउन तयार भयो, आंशिक रूपमा भए पनि औषधीमूलो पठायो। यता घाइतेका टोली नेताले पनि उत्तरतर्फ नै साइनो सम्बन्ध विस्तार गर्न चाहे। उतै गएर केही सम्बन्ध गाँसेर फर्किए।

त्यस्तो गतिविधि नजिकबाट नियालेको दक्षिणी छिमेकी केही समय मौन रह्यो। तर धेरैपछि उसले अहिले मौनता तोड्न थालेको छ। विगतका कुरा बिर्सिएर नयाँ सम्बन्ध गास्न ओली थरका अगुवालाई मोदी थरका छिमेकीले निरन्तर आग्रह गरिरहेका छन्। अब हुनेवाला मुलुकका ओली थरका नायकले उत्तरतर्फ धेरै माया प्रेम नगाँसून् भन्ने दक्षिणको चाहना देखिन्छ।

त्यस्तै मूल आशयका साथ दक्षिणले अहिले आफ्ना विशेषदूत नै काठमाडौं पठाएको छ। धरहरा चाहन्छ, सम्बन्ध सुध्रिन्छ भने त राम्रै कुरा हो। तर मुलुकका हुनेवाला नायकलाई अनेकौ प्रशंसाका शब्द खर्चिएर आगामी दिनमा चटक्कै धोकाचाहिँ दिन हुन्न है!

प्रतिक्रिया दिनुहोस्