गिरोड सस्तोमा अउबामेयाङ महगोमा बिके



लन्डन, (एजेन्सी)
चेल्सीले आर्सेनलका स्ट्राइकर ओलिभीएर गिरोडलाई १ करोड ८० लाख पाउन्डमा १८ महिनाको लागि सम्झौता गरेको छ । फ्रान्सका खेलाडी गिरोडले आर्सेनलका लागि २ सय ५३ खेलबाट १ सय ५ गोल गरेका थिए । उनी जुन २०१२ मा १ करोड २० लाख पाउन्डमा मोन्टपेलीएरबाट प्रिमियर लिग क्लब आएका थिए ।

यसैगरी बोरुसिया डर्टमन्डले चेल्सीका फरवार्ड मिची बाटसुआयीलाई यसै सिजनको अन्त्यसम्मका लागि सम्झौता पक्का गरेको छ । विन्टर ट्रान्सफर विन्डोको अन्तिम दिनमा डर्टमन्डले पिइरे एमेरिक अउबामेयाङलाई आर्सेनलमा बेचेको छ । आर्सेनलले उनलाई ५ करोड ६० लाख पाउन्डमा किनेको छ । यो क्लबको इतिहासमा अहिलेसम्मकै महगो सम्झौता हो ।

आर्सेनलले यसअघि एलेक्सान्डे« लाकाजेटलाई गत जुलाईमा ४ करोड ६५ लाख पाउन्ड खर्च गरेको नै क्लबको महगो सम्झौता थियो । ग्याबनका खेलाडी अउबामेयाङले जर्मनबुन्डेसलिगामा डर्टमन्डका लागि यसै सिजनमा २४ खेलबाट २१ गोल गरेका छन् ।

यस्तै टोटनहामले पेरिस सेन्ट जर्मेनका विंगर लुकास मउरालाई २ करोड ५० लाख पाउन्डमा पाँच वर्षको लागि आबद्ध गरेको छ । ब्राजिली खेलाडीको सम्झौता टोटनहामको पाँचौ सर्वाधिक महगो सम्झौतामा पर्छ । लुकास पीएसजीमा ३ करोड ५० लाख पाउन्डमा साओ पाओलाबाट २०१३ मा भित्रिएका थिए । उनले फ्रेन्च क्लबका लागि ४६ गोल र ५० एसिस्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्