प्रतीक्षा नतिजाको



बलात्कार जस्तो जघन्य अपराधको घटना आर्थिक मिलोमतोमा मिलाइएको भन्ने खबरले निकै चिसिएको काठमाडौंको मौसम पनि निकै तातेको छ। यही आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिएका छन्।

सो वृत्तका प्रमुखसमेत रहेका डीएसपी तिलक भारती र इन्सपेन्क्टर लक्ष्मणसिंह ठाकुर पनि अनुसन्धान र कारबाहीमा तानिएका रे। आर्थिक प्रलोभनमा पीडित युवतीको उजुरी नै नलिई घटना मिलाएको आरोप उनीहरूमाथि लागेको छ। धरहराले यस्तै खबर सुन्यो।

घटना गत बिहीबार काठमाडौंको होटेल ल्यान्डमार्कमा एक युवतीलाई ३ जना युवाले सामूहिक बलात्कार गरेपछिको हो। सो घटनाकी पीडित युवती उजुरी दिन दरबारमार्ग वृत्त पुगे पनि प्रहरीले उजुरी दर्ता नै नगरी आरोपित युवाका पक्षमा लबिङ गरेको चर्चा छ। युवतीलाई २० लाख रुपियाँभन्दा बढी क्षतिपूर्ति दिने सहमतिमा उजुरी दर्ता नगरी घटना मिलाइएको चर्चा छ।

घटनाबारे सर्वत्र आलोचनापछि महानगरीय प्रहरी परिसर काठमाडौंले एसपी रामदत्त जोशीको संयोजकत्वमा तीन सदस्य समिति बनाएर छानविन शुरू गर्या छ रे। समितिले छानविन एक ढंगले अघि बढाउला तर पैसाको ठूलो बन्डलले छानविनलाई अर्कैतिर पो मोड्ने हो कि ? छानविनले आरोपित प्रहरी अधिकारी तक्मा पाउने योग्य हुने निष्कर्ष पो निकाल्ने हो कि ? नतिजा जे पनि आउन सक्छ, आखिर छानविन न हो।

प्रतिक्रिया दिनुहोस्