ग्वान्टानामो हिरासत केन्द्र पुनः खोल्ने घोषणा



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पहिलोपटक ‘स्टेट अफ द युनियन’लाई सम्बोधन गरेका छन्। सम्बोधनमा ट्रम्पले रोजगारी, अर्थव्यवस्था, आप्रवासी, आतंकवाद र राष्ट्रिय सुरक्षासहित कयौं मुद्दामा आफ्नो नीति सार्वजनिक गरेका छन्। अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकालको एक वर्ष पुरा भएको अवसरमा राष्ट्रका नाममा उक्त सम्बोधन गरेका हुन्।

‘स्टेट अफ द युनियन स्पिच’ भनेर चिनिने उक्त भाषण हाउस अफ रिप्रिजेन्टेटिव अर्थात् प्रतिनिधिसभामा हुने गर्छ। यस सम्बोधनमा कांग्रेसका दुवै सदनका सदस्य उपस्थित हुने गर्छ।

ट्रम्पले आफ्नो एक वर्ष कार्यकालको बयान गर्दै विगत १२ महिनामा असाधारण सफलता हासिल गरेको बताए। चुनावपछि हालसम्म युवाहरूले २४ लाख नयाँ रोजगार हासिल गरेको र त्यसमा २ लाख रोजगार निर्माण क्षेत्रमा दिइएको उनले बताए। कयौं वर्षदेखि तलबमा वृद्धि हुन नसकेको अवस्थाबाट अहिले यसमा वृद्धि देखिरहेको ट्रम्पले बताए।

साना व्यवसायीको आत्मविश्वास उच्चस्तरमा रहेको दाबी गर्दै स्टक मार्केटले कीर्तिमान तोडिरहेको उनले बताए। उनले भने– ‘मैले ११ महिनाअगाडि यसै मञ्चबाट अमेरिकी नागरिकसमक्ष प्रतिबद्धता व्यक्त गरेको थिएँ। हामीले अमेरिकी इतिहासमा सबैभन्दा ठुलो कर कटौती र कर सुधार गर्यौं। सबै समुहका लागि फरक फरक कटौती गरेका छौं।’
राष्ट्रपतिले भर्जिनियामा एक गोलाबारीमा घाइते भएका सांसद स्टिवको सराहना गरे। उक्त घटनापछि अत्यन्त कठिन स्थिति पार गरी साढे तीन महिनापछि काममा फर्केको उल्लेख गर्दै स्टिव लुसियानाको आदर्श भएको उनले थपे।
अफ्रिकी–अमेरिकी बेरोजगारी अहिलेसम्मको सबैभन्दा निम्नस्तरमा रहेको र हिस्पानिक अमेरिकी जनतामा बेरोजगारीको इतिहासमा सबैभन्दा कम रहेको ट्रम्पले बताए।

अमेरिकी इतिहासमा कुनै पनि प्रशासनको तुलनामा आफूले आफ्नो पहिलो वर्षमा कयौं निमय अन्त्य गरेको ट्रम्पले बताए। ऊर्जाका लागि संघर्ष अन्त्य गरेको दाबी गर्दै अहिले अमेरिकाले विश्वभरि ऊर्जा बेचिरहेका बताए। कयौं गाडी कम्पनीले अब अमेरिकामा आफ्नो कारखाना स्थापित तथा विस्तार गरिरहेको उनले बताए।

आतंकवादलाई लिएर सम्बोधनमा ट्रम्पले भने– ‘आतंकवादी अपराधीमात्र होइनन्, गैरकानुनी शत्रु लडाकू हुन्। जब उनीहरू विदेशमा पक्राउ पर्छन्, उनीहरूसँग आतंकवादीकै रूपमा व्यवहार गर्नुपर्छ।

हामीले पहिला सयौं आतंकवादीलाई मूर्खतापूर्वक रिहा गर्यौं। तर उनीहरूलाई पुनः युद्धभूमिमा भेट्यौं। जस्तो आईएसआईएसका नेता अल बगदादी।

आफूले हालै मात्र सचिव मेटिसलाई सेनाको ग्वान्टानामो खाडीस्थित हिरासत केन्द्र पुनः खोल्न भनेको ट्रम्पले बताए। सन् २००९ मा ओबामाले उक्त कुख्याती कमाएका हिरासत केन्द्रलाई बन्द गरेका थिए।

सीप, योग्यता वा नागरिक सुरक्षालाई ध्यान नदिई ग्रिन कार्ड दिने भिसा लटरी सिस्टम अन्त्य गर्ने आप्रवासी योजना रहेको उनले जानकारी दिए। ट्रम्पले भने– ‘मेरिटका आधारमा आप्रवासी प्रणालीतर्फ बढ्ने समय आएको छ र त्यसले ती व्यक्तिहरूलाई स्वीकार गर्छ जो कुशल छन्, जसले काम गर्न चाहेको छ, जसले हाम्रो अमेरिकी समाजमा योगदान पुर्याउँछ र जसले हाम्रो देश अमेरिकाको सम्मान र माया गर्छ।

प्रतिक्रिया दिनुहोस्